बालबालिकाले अभिभावकसंगै रोपे धान (फोटो फिचर)

0

रोपाईका बारेमा समेत समान्य जानकारी नभएका बालबालिकाले दिवसको अवसरमा अभिभावकसंगै खेतमा पुगेर धान रोप्दै दिवस मनाएका छन् । माउण्ट एभरेष्ट आवासीय मावि अन्र्तरगत सञ्चालित स्मल हेभन मन्टेसरीमा अध्ययरत बालबालिकाले बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलामा अभिभावक संगै धान रोपेका हुन् ।

हातमा विउ लिएर खेतमा पसेका बालबालिकाले अभिभाव संगै धान रोपेको दृष्य हेर्न लायकको थियो। पहिलोपटक खेतमा पुगेका बालबालिकालाई अभिभावकले रोप्न सिकाएका थिए । शिक्षक र अभिभावकको बीचमै बसेर बालबालिकाले समेत धान रोप्ने प्रयास गरेपछि दुधेखोला आसपासका क्षेत्रबाट समेत हेर्न आएका थिए ।

पुर्व प्राथमिक तहबाटै बालबालिकालाई ब्यवहारिक विषयमा केन्द्रित गराउने र रोपाई भएको ठाउँमा अर्को पटक समेत ल्याउने मन्टेसरीकी कोर्अडिनेटर बिबा पुनले बताईन् । ‘हेदैं सिक्दै गर्ने अभ्यासलाई प्राथमिकता दिएका छौ,‘आगामी बर्ष समेत यसलाई निरन्तरता दिनेछौ’पुनले भनिन् । उनले धान, गोरु देखेर दंग परेका बालबालिकालाई भविस्यमा पनि गोडमेल गर्न ल्याउने बताईन् । अभिभावकले समेत आफ्ना छोराछोर्रीले धान रोपेको निकै चासोपुर्वक हेरेका थिए ।

छोराछोरीले धान रोप्नेको हेर्न र फोटो खिच्न आउने अभिभावको समेत भिड देखिन्थ्यो । कलिलै उमेरमा जानकारी गराउन ब्यवहारिक शिक्षा समेत आवश्यकता रहेको अभिभावक निकिता पुन बरुवालले बताईन् । उनले प्रयोगात्मक अभ्यासमा जोड दिन समेत अनुरोध गरिन् । मेहनत पछिको फलका बारेमा समेत अभिभावकसंगै ल्याएर जानकारी गराउने विद्यालयका संस्थापक चन्द्रकुमार केसीले बताए । उनले सहर बजारमा जन्मिएका बालबालिकालाई ग्रामिण क्षेत्रको दैनिकीका बारेमा जानकारी गराउन आवश्यकता रहेको बताए ।

यसैबीच विद्यालयले दिवसकै अवसरमा असार महिनामा जन्मिएका विद्यार्थीले जन्मदिनको अवसरमा बृक्षारोपण अभियानलाई समेत सुरु गरेको छ । शुक्रबार बेनपा–७ बौद्ध बिहार आसपासका क्षेत्रमा बृक्षारोपण गरिएको विद्यालयका संस्थापक सदस्य राजु केसीले बताए । उनका अनुसार जन्मदिनको अवसरमा बृक्षारोपण गरी निरन्तर रेखदेख गर्ने गरी विद्यालयले हरेक दिन शुक्रबार कार्यक्रम गर्ने बताए । यता दिवसकै अवसरमा न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविको पुर्व प्राथमिक तहमा अध्ययरत विद्यार्थीले धान रोपेका छन् ।

विगत चार बर्षदेखी धान दिवसको अवसरमा विषेश कार्यक्रमको आयोजना गर्ने गरेको विद्यालयले दिवसको अवसरमा बालबालिकालाई धान रोप्न सिकाएको हो । पुर्व प्राथमिक तहका करिव ३ सय २५ जना विद्यार्थीलाई धानको महत्वका बारेमा जानकारी गराउँदै धान दिवसमा रोप्न सिकाइएको विद्यालयका मिडिया हब संयोजक कृष्ण जिसीले बताए । जिल्लाका ग्रामिण क्षेत्रमा समेत सामुदायिक विद्यालयले दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् ।