जिल्लामा करिव ३० प्रतिशत रोपाई सकिएको छ । मानो छरेर मुरी उब्जाउने महिनामा अपेक्षा गरेअनुसार बर्षा नभएका कारण रोपाईमा ढिलाई भएको कृषकले बताएका छन् । बेनी नगरपालिका र पाँचवटा गाउँपालिकाका खेतहरूमा रोपाई सुरू भएको बरिष्ठ कृषि विकास अधिकृत श्यामराज रिजालले बताए ।‘माथिल्लो क्षेत्रमा दैनिकजसो बर्षा भइरहेकाले रोपाईमा ब्यस्त छन्,‘आधुनिक प्रविधिको प्रयोगले पनि सहज भएको छ’ रिजालले भने ।

उनका अनुसार गतबर्ष मध्य असारसम्म करिव २० प्रतिशत धान खेती भएको थियो । साउनको तेस्रो सातासम्म खेतीयोग्य जमिनमा रोपाई सकिन्छ । सिचाई सुविधा भएका अधिकाँस स्थानमा रोपाई सुरु भएको छ भने नदी आसपासका क्षेत्रमा सिचाई सहित मोटरबाट समेत पानी तानेर रोपाई भइरहेको छ । कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेतीबाट १२ हजार ८६८ मेट्रिक टन उत्पादन हुन्छ ।

एक हेक्टरमा ८ मेट्रिक टन धान उत्पादन हुनुपर्नेमा म्याग्दीमा ३.३ मेट्रिक टन उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् ।

उन्नतजातको धान खेती गरेपनि जिल्लाका अधिकांस कृषक स्थानीय जातको धान खेती गर्ने भएकाले पनि अपेक्षा गरेअनुसारको उत्पादन बृद्धिमा समस्या रहेको छ । गाउँपालिकाले अनुदान र सहुलियतामा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ । जिल्लामा दुईबाली धान खेती समेत निकै कम हुने गरेको छ । जिल्लामा उत्पादन हुने धानले अपुग हुन्छ । जिल्लाको ग्रामिण क्षेत्रसम्म आयात गरिएकै चालम प्रयोग गर्ने गरिएको छ ।