खेत जोत्न आधुनिक प्रविधिको प्रयोग, महिलाले समेत हाते ट्याक्टरले जोत्न थाले

0
561

रघुगंगा गाउँपालिका–३ पिप्ले मौवाफाँटका मुकुन्द शर्माले हलो र जुवा काँधमा राखेर हल गोरू धपाउँदै खेतबारीमा जान छोडेको तीनबर्ष भयो । हिउँदे र बर्खे बाली लगाउन शर्माले घरका गोरूलाई आवश्यक पर्ने गोठ र घाँस ब्यवस्थापनमा दैनिक समय छुट्टाउनुपर्ने बाध्यता थियो ।

घरको गोरू बुढो भएपछि छिमेकीको लिएर समेत खेतबारी जोत्ने गरेका शर्माले मुक्ति शर्मा र मन बहादुर बुदुजा संग मिलेर एउटा मिनी पावर टिलर (खेत जोत्ने ट्याक्टर) खदिर गरेपछि गोठमा गोरू बाँध्न छोडेका छन् । तीनजनाको संयुक्त लगानीमा खरिद गरेको ट्याक्टरलाई मर्मत समेत सामुहिक खर्चमा गर्ने गरेका छन् । ‘गोरूको खर्चभन्दा यो धेरै सस्तो लाग्यो,‘हलग गोरुले दिनभरीमा गर्ने मेलो ट्याक्टरले एकघण्टामै सकिन्छ,’ शर्माले भने । गाउँपालिकाले समेत ५० प्रतिशत अनुदानमा ट्याक्टर दिएपछि थप सहज भएको बताए ।

मौवाफाँट आसपासका क्षेत्रमा गोरूलाई बेचेर समेत एकल तथा सामुहिक रुपमा धमाधम ट्याक्टर किन्न थालेको उनको भनाई छ । खेतबारीमा ट्याक्टरले जोत्दै गरेकी पवित्रा आमा समुहकी अध्यक्ष कमला केसीले साना र ठुला खेतमा समेत सजिलै जोत्न मिल्ने ट्याक्टरले सहज भएको बताईन् ।

गाउँकी अगुवा महिला समेत रहेकी केसीले महिलालाई समेत प्रविधिको प्रयोगमा प्राथमिकता दिन अनुरोध गदैं आमा समुहमा आवद्ध महिलाले समेत ट्याक्टरबाट जोत्न सक्ने बताईन् ।उनले सधै रोपाह र खेतालाको भूमिकामा देखिने महिलाले समेत जोत्न थालेपछि गाउँमा समेत सिक्नेको संख्या बढ्दै जान थालेको छ ।

‘महिलाले पनि ट्याक्टरले जोत्ने गरेका छन्,‘गाउँमा रहेका बाँझो खेत समेत सदुपयोग हुन थालेको छ’ केसीले भनिन् । उनले महिलाले हलो समात्न हुदैन भन्ने परम्परागत सोचलाई आधुनिक प्रविधिको प्रयोगले विस्थापित गरेको दावी समेत गरिन् । गाउँका पुरुष धमाधम रोजगारको खोजीमा विदेश पलाउन हुन थालेपछि महिलाले समेत ट्याक्टरको प्रयोग गरी खेतबारी जोत्न थालेपछि जिल्लाभर गोरूको प्रयोग घट्दै जान थालेको छ ।

‘गोरूले जोत्दा साउनको दोस्रो सातासम्म कुर्नुपर्ने खेतमा ट्याक्टरको प्रयोगले असारकै दोस्रो साता सकिएको छ,‘ट्याक्टरको प्रयोगलाई चासो दिनेका कुनैपनि खेत बाँझो छैनन्’ मंगला गाउँपालिका–१ कुहुँका दिल बहादुर किसानले भने । उनले खेतबारीमा अन्नबालीका साथै तरकारी खेतीमा समेत ट्याक्टरको प्रयोग गर्नेको संख्या बढेको बताए । उनले धान रोप्न भाडामा गोरू ल्याउनुभन्दा पनि ट्याक्टर सस्तो र छिटो भएको बताउँदै भाडामा समेत ट्याक्टरको प्रयोग गर्ने गरिएको बताए ।

गाउँमा धान, मकै, गहुँ खेती र ब्यवसायीक तरकारीबाली लगाउन ट्याक्टरको प्रयोग गर्ने गरिएको किसानले बताए ।कम जनशक्तीमा थोरै समयमा जोत्न सकिने भएपछि गाउँघरमा घरैपिच्छे समेत ट्याक्टर देखिने गरेको छ । ट्याक्टरको प्रयोगले खेतबाली लगाउने सजिलो हुने, माटो खुकुलो हुनेर उत्पादन समेत बढ्ने कृषकको अनुभव छ ।
पछिल्लो आधा दशक यता मिनी पावर टिलर र सामान ढुवानी गर्ने ट्याक्टरको प्रयोग गरी जोत्ने गरिएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले समेत कृषकलाई अनुदानमा मिनी पावर टिलर वितरण गरेको छ ।

कृषि खेतीमा पकेट क्षेत्र मानिएको मंगला गापाले सबैभन्दा धेरै २० वटा, धौलागिरी १२, रघुगंगा ७, अन्नपूर्ण, मालिका र बेनी नगरपालिकाले समेत अनुदानमा मिनी पावर टिलर उपलब्ध गराएका छन् । कृषकको माग अत्याधिक भएपछि वडास्तरमा समेत अनुदानको सुविधा दिएर गोलाप्रथाबाट समेत वितरण गरिएको छ । परम्परागत खेती प्रणालीलाई हटाउँदै किसानहरुलाई ब्यवसायीक बनाउन कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन उपकरण वितरणलाई प्राथमिकता दिएको मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजना केसीले बताईन् ।

‘कृषि क्षेत्रमा बजेटले समेत प्राथमिकता पाएको छ,‘गाउँपालिका भित्र समथर भुभाग पनि धेरै छ’ उनले भनिन् । अर्गानीक खेतीमा आर्कषित कृषकलाई ठुला आकारका खेत जोत्ने उपकरण समेत वितरण गरिएको उनको भनाई छ । स्थानीय तहले आगामी आर्थिक बर्षमा समेत आधुनिक उपकरणमा कृषकको पहुँच पु¥याउने गरी हाते ट्याक्टर सहित अन्य कृषि औजारलाई समेत सहुलियत अनुदानमा वितरण गर्ने गरी बजेटमा प्राथमिकता दिएको जनाएको छ । दैनिकजसो यूवा गाउँबाट पलाउन हुन थालेपछि आधुनिक प्रविधिमा महिलाको समेत पहुँचले खेतबारी जोत्न तथा बाँझो जमिनलाई समेत प्रयोगमा ल्याउन सहज भएको छ ।