पाँचदिने उद्घोेषण तालिम सुरु

0
163

एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको आयोजनामा शनिबारदेखि सदरमुकाम बेनीमा पाँचदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगरपालिकाले सबै क्षेत्र, बर्ग र समुदायलाई एकसाथ अघि लैजाने उद्देश्य अनुसार केन्द्रसँग सहकार्य गरेर तालिम सञ्चालन गरिएको बताइन् ।

तालिम अवधीभर प्रभावकारी सिकाई हुने अपेक्षा व्यक्त गर्दै उनले सहभागिहरुलाई विभिन्न कारणले एकल हुनु परेको महिलाहरुलाई स्थानीय सरकारले आयआर्जनमुलक कार्यक्रममा सहयोग गरिरहेको जानकारी दिइन् ।

केन्द्रकी अध्यक्ष विमला गौचनको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगर, जिल्ला समन्वय समिति म्याग्दीकी सदस्य खिमा पुर्जा, बेनी नगरपालिका वडा नं.–८ का वडाअध्यक्ष एवम नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइली, लगायतले महिलाहरुको सशक्तीकरण र बालबालिकाको हकहितबारे जनजेतना जागरुक बनाइनुपर्नेमा जोड दिएका थिए । महिला तथा बालबालिका सचेत भए समाजमा घट्ने हिसा, पछौटेपन पनि हट्ने उनीहरुको भनाई थियो । केन्द्रकी उपाध्यक्ष देवी खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन एजिना केसीले गरेकी थिइन् । पाँचदिन सम्म चल्ने तालिममा ३० जनाको सहभागिता छ ।