बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनमा आर्थिक अभाव भएपछि यूकेमा बसोबास गर्ने भकिम्लीबासीले २० लाख आर्थिक सहयोग गरेका छन् । विद्यालयको स्थापनाकालका भवन जिर्ण भएपछि विस्थापित गरी तीन बर्ष अगाडीबाट सुरु गरिएको २० कोठे भवन निर्माणकै क्रममा आर्थिक समस्याले अलपत्र परेपछि भवन निर्माणमा सक्रिय रहेका यूकेबासीको पहलमा एकैदिनमा २० लाख संकलन भएको हो ।

भवनलाई पुनराम, जितकलाले ५ लाख, टिकाजित पुन ३ लाख, लाल बहादुर पुन २ लाख ५० हजार, होम बहादुर रोका २ लाख ५० हजार, चित्र बहादुर पुन ३ लाख, शेर बहादुर छन्त्याल २ लाख ९४ हजार ४४५ सहयोग गरेको विद्यालयका शिक्षक डेक बहादुर घर्तीले बताए । उनका अनुसार बेल्जियमबाट लोक बहादुर घर्तीमगरले समेत १ लाख सहयोग गरेका छन् । उनका अनुसार विद्यालयको अभियानमा सहयोगदाताले पुनरामले ५ लाख १० हजार, टिकाजितले २ लाख, लाल बहादुरले २ लाख ५० हजार, होम बहादुरले २ लाख ५०, चित्र बहादुर २ लाख, शेर बहादुर २ लाख ५५ हजार ५५५ र लोक बहादुरले ५ लाख, ५० हजार सहयोग गरेका थिए ।

स्वदेश तथा विदेशमा रहेका स्थानीय अगुवाले सुरू गरेको भवन निर्माण अभियान अन्र्तरगत निर्माणधिन अवस्थामा रहेको २० कोठे भवनमा हालसम्म १ करोड २० लाख आर्थिक सङ्कलन भएको छ । समुदायबाट चन्दाबाट ३० कोठे सुविधासम्पन्न भवन निर्माणको अभियान सुरु गरेपछि साविकको जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय इकाईबाट ३१ लख ४४ हजार अनुदान प्राप्त भएको विद्यालयका प्रधानध्यापक राम बहादुर थापाले बताउनुभयो । भवन निर्माणको क्रममा १७ लाख ऋण रहेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले भवन निर्माणको अभियानमा थप सहयोगको आवश्यकता रहेको बताए । उनले अन्तिम ढलान, पलाष्टर सहित विभिन्न संरचना बनाउन र खेलकुद मैदानका लागि आवश्यक सहयोग जुटाउन पहल भइरहेको बताए । प्रवासमा रहेका म्याग्दीबासीबाट अपेक्षा गरे अनुसार सहयोग प्राप्त भएकाले भवन निर्माण कार्यले तिब्रता पाएको बताए ।