बेनीमा धिमे र बाँसुरी बाजाको संरक्षण (फोटो फिचर)

0

म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायले परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षणमा जुटेका छन् ।नेवार समुदायका यूवालाई पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका : खल अन्र्तगतको मैजुः खलले शुभ कार्यहरुमा बजाईने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालिम सञ्चालन गरेको छ ।

यूवापुस्ता विदेश पलायन हुन थालेपछि पुराना बाजाको प्रयोग घट्दै जान थालेपछि पुराना पुस्ताले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण र बाजा बजाउने सिपको क्षमता विकासको लागि सुरू गरिएको तालिमको समापनको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेवार समुदायका पुराना बाजाको संरक्षणले समुदाय संगै पर्यटनको क्षेत्रमा समेत सघाउने बताइएको थियो ।

मैजुः खलका अध्यक्ष तुलशिलता श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा आवश्यकता अनुसार सहयोग गरिने बताए । ‘यूवापुस्तालाई पुराना सीपको हस्तान्तरणले समेत संरक्षणमा सघाउँछ’श्रेष्ठले भने । बेनीबजारका कला र संस्कृति र सम्पदाहरुको संरक्षणले जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कषित हुने भएकाले पनि नगरपालिकाबाट समेत बजेट सहितका कार्यक्रमलाई निरन्तरता दिन उनको भनाई थियो ।

सोही अवसरमा तालिममा सहभागिले धिमे र बाँसुरी बजाएका थिए । कार्यक्रममा नेपाल भाषा मंकाः खलः का जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, ल्याम्ह पुचका अध्यक्ष सुविन श्रेष्ठ, नासा सृष्टि कला केन्द्र काठमाण्डौका धर्म मुनिकार, मंकाःखलका सल्लाहकार प्रकाश कुमार श्रेष्ठले वैदेशिक रोजगारि र बसाईसराईको कारण संकटमा परेको परम्परागत संस्कृतिहरुलाई संरक्षणको आबश्यकता रहेको बताएका थिए ।

धिमे बाजाको तालिम ३ बर्ष पहिले पनि संचालन गरिएको थियो । बाँसुरी बाजा र हार्मोनियमको तालिम पहिलोपटक सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिम समापन कार्यक्रममा अध्यक्षता मैजु खलकी सभापति तुलसीलता श्रेष्ठ, मैजुः खलका उपाध्यक्ष रजनी कर्माचार्य श्रेष्ठको स्वागत र सचिब सुगम श्रेष्ठले सञ्चालन गरेकी थिईन् ।