पर्वतको जलजला गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनलाई गुणस्तरीय बनाउन तालिम सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयका अभिभावकले छोराछोरीलाई अंग्रेजी माध्यमबाट खोजीमा निजी विद्यालयमा आर्कषित हुन थालेपछि विद्यार्थी संख्या ह्वात्तै घट्न थालेपछि सामुदायिक विद्यालयले सुरु गरेको अङ्ग्रेजीमा हुने पठनपाठनलाई ब्यवस्थित बनाउन गाउँपालिकाले मंगलबार देखी पाँच दिने अंग्रेजी माध्यम शिक्षण सिकाई तालिमसुरु गरेको हो ।

गाउँपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालयका शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको तालिमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमलाई प्रयोग गर्ने शिक्षकको क्षमता विकासमा आवश्यक बजेट विनियोजन गर्ने बताए । उनले पुरानो शैलीबाट शिक्षण सिकाईले गुणस्तरीय शिक्षामा असर गरेको बताए ।

जलजला गापा–३ माझँफाटका अध्यक्ष एवम् शिक्षा संयोजक गोविन्द खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतम,गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतमले अंग्रेजी सहित गणित, विज्ञान, सामाजिक विषयमा समेत अनुभव आदानप्रदान गरिने बताएका थिए।

गाउँपालिका भित्र रहेका संस्थागत र सामुदायिक गरी ५२ ओटा विद्यालयबाट सहभागिता रहेको तालिमको सञ्चालन श्रोतब्यक्ति सुवन्तनाथ सुबेदी र स्वागत कमलनयन आचार्यले गरेका थिए । पर्वत बेनीको न्यू होराईजन आवासीय माविमा सञ्चालन भइरहेको तालिमको लक्ष्मण गौतम र देवराज शर्माले सहजिकरण गर्नेछन् ।