विदेशबाट फर्किएका पुनले हातेकागज उद्योग स्थापना, गाउँलाई हातेकागजको हब बनाइने

0
329

बैदेशिक रोजगारबाट फर्किएका यूवाहरु गाउँमै धमाधम नयाँ उद्योग सञ्चालनमा ब्यस्त छन् । विदेशमा हन्डर खाएर फर्किएका यूवाले गाउँमा नयाँ उद्योग सञ्चालन गर्न थालेपछि गाउँले समेत आर्कषित हुने गरेका छन् ।

जसको उदाहरण बनेका छन् मालिका गाउँपालिका ५ देविस्थानका खगेन्द्र पुन् । बैदेशिक रोजगारमा खाडीमुलुक पुगेर फर्किएका पुनले गाउँको बनजंगलमा खेर गएका लोक्ताको सदुपयोग गदैं हातेकागज उद्योग स्थापना गरेर रहरलाग्दो आम्दानी गर्न थालेपछि गाउँले नै हातेकागजमा आर्कषित भएका छन् । वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्ने गरेका छन् ।

२७ वर्षिय पुनले बैदेशिक रोजगारीको विकल्पमा गाउँमै उद्यम, ब्यवसाय गरेर स्वरोजगार बन्ने लक्ष्य सहित उद्योग सञ्चालन गरेको बताउँदै माग अनुसार पु¥याउन मुस्किल भएको बेनीअनलाइनलाई बताउनुभयो ।करिव ६ लाखको पुँजीमा उद्योग दर्ता गरी करिव १० लाखको लगानी गरेका पुनले जंगलमा लोत्ता संकलन, ढुवानी र प्रशोधनको काममा दश जनालाई रोजगारी दिएका छन् । देविस्थान, रुम, ओखरबोट, बिम, निस्कोट, ताकम, मुना, गुर्जा, मराङको जंगलमा वर्षौदेखि खेर गैरहेको लोत्ताको सदुपयोग भएको छ ।

लोत्ता बेचेर समुदायले आम्दानी गर्ने अवसर पाएका छन् । स्थानीयले जंगलमा संकलन गर्ने लोत्ता खरिद गरिएको छ । यही जेठ महिनादेखि सञ्चालन भएको उद्योगबाट दैनिक एक देखि तिन कोरी नेपाली कागज उत्पादन हुन्छ । तौल अनुसार प्रतिकोरी कागजको हालको बजार मूल्य आठ सय देखि छ हजार रुपैया सम्म पर्छ । सरकारी प्रशासनीक काममा प्रयोग हुने नेपाली कागजबाट फाईल, डायरी, नोटबुक, ल्याम्प सेट लगायतका सामाग्री समेत बनाउन सकिन्छ।
सामुदायिक बनले समेत सहयोग गरेकाले उद्योग फस्टाएको छ ।

देविस्थानमा हातेकागजको तालिम समेत सञ्चालन गरिएको छ । वडा अध्यक्ष पिपला बुढाले तालिम सञ्चालन गरेर हाते कागजको हव बनाउने बताउनुभयो । वडा कार्यालयको संयोजनमा तालिम समेत सञ्चालन गरिएको थियो । गाउँका महिलाले समेत घरमै बसेर उद्योग सञ्चालन गर्ने योजना बनाएपछि वडाबाट भविस्यमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाएको छ ।

मालिका गाउँपालिकाले लघुउद्यम विकास रणनिती अनुसार कागज, अल्लो पुवा जस्ता स्थानीय स्रोत साधनमा आधारीत उद्यमलाई प्रर्वद्धनमा प्राथमिकता दिएको छ । गाउँपालिका जिल्लामै लघुउद्यममा आर्कषित भएको गाउँपालिकाको रुपमा समेत चिनिन्छ । मालिकाका उद्यमीले जिल्लाका साथै विदेशमा समेत उत्पादनहरु विक्री गर्ने गरेका छन् । सिपमुलक तालीम, अनुदानमा उपकरण वितरण जस्ता कार्यक्रमलाई समेत प्राथमिकता दिएपछि उद्यमी उत्साहित भएका छन् । विदेशबाट सिकेको सीपलाई यूवाले गाउँमै प्रयोग गर्न थालेपछि स्थानीयलाई समेत उत्साह थपिएको छ ।