मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकप्टर मौसम खरावीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ । शुक्रबार दिउँसो साढे १ बजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्कने क्रममा दुर्घटनामा ज्यान गुमाएका १९ जना मजदुरको शव लिन आएको नेपाली सेनाको एमआई १७ हेलिकप्टर बेनी नगरपालिका ६ मा रहेको श्री बक्स गुल्मको ब्यारेकमा अवरतरण गरिएको हो ।

मुस्ताङ क्षेत्रमा मौसममा आएको खरावीका कारण अवतरण गरेको हेलिकप्टर मौसममा सुधार आए लगत्तै उडान गर्ने बताइएको छ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा मौषम खरावीका कारण समस्या भएको चालकदलका सदस्यको भनाई छ ।

हेलिकप्टरले दुर्घटनामा ज्यान गुमाएका सबै मजदुरको शव लैजाने छ । बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा दुर्घटनामा १२ जना घाइते भएका थिए । मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन् । घाईतेहरुको सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल र पोखरामा उपचार भइरहेको छ । मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुःताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए ।