विम स्वास्थ्य चौकीको भवन हस्तान्तरण

0

मालिका गाउँपालिका–७ विम देउरालीमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले एक करोड ७७ लाख ८८ हजार लागतमा २० कोठे भवन निर्माण गरेको हो ।

शनिबार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा भवन डिभिजन कार्यालय बागलुङका प्रमुख प्रकाश अर्यालले स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष सुविन जुग्जालीलाई भवन हस्तान्तरण गरेका थिए । नवनिर्मित भवनको औषधी भण्डारण, प्रसूति, बिरामीको स्वास्थ्य परिक्षण, प्रशासनिक, बिरामीको उपचारस्थल लगाएत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कोठाहरू बनाइएको छ ।

भवन निर्माणका लागि छनौट गरिएको स्थानका बारेमा स्थानीय बीच विवाद भएपनि १८ महिने सम्झौताभित्र मुक्तिनाथ बिएन जेभीले काम सम्पन्न गरी हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा ४ नं प्रदेशका सामाजिक विकासमन्त्रीका स्वकिय सचिव बेकप्रसाद गर्बुजा, मुक्तिनाथ बिएन जेभीका सञ्चालक नारायण जिसी लगाएतको उपस्थिति रहेको थियो । स्वास्थ्य चौकीको भवन निर्माणसंगै आधुनिक सेवाका लागि उपकरण सहितको ब्यवस्था गर्नुपर्नेमा स्थानीयले माग गरेका छन् ।

वडा अध्यक्ष जुग्जालीले गाउँमै आधुनिक सेवाका लागि वडा कार्यालयले आवश्यक उपकरण ल्याउन पहल गर्ने बताए । उनले जनचेतनामुलक कार्यक्रम, आकस्मिक उपचार तथा प्रभावकारी सेवाका लागि प्रतिबद्ध रहेको बताए । करिव ४ सय १२ घरधुरी रहेको बिमको स्वास्थ्य चौकीबाट सेवा लिएर थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ र सदरमुकाम बेनीमा आउने गरेका छन् ।