स्वास्थ्य चौकीको भवन लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न

0
259

मालिका गाउँपालिका–४ च्युरिबोटस्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा सञ्चालित भवन निर्माण योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको हो ।

१५ महिनामा भवन बनाउने सम्झौता भए पनि १२ महिनामा भवन बनाएको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो । पूर्वाधार योजना ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जयलक्ष्मी जेभिले इच्छाशक्ति, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको अध्यक्ष शेरचनले बताउनुभयो ।

१७ श्यया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवन निर्माण कार्य विसं २०७४ साउनमा शुरु भएको थियो । रु एक करोड २६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले प्रक्रिया पूरा गरेर भवन डिभिजनमार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरणको तयारी गरेको बताउनुभयो ।कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको व्यवसायी श्रेष्ठले बताउनुभयो ।