कालिगण्डकीमा बेपत्ता सविता नेपालीको निष्पक्ष छानबिन गर्न माग

0
253

बेनी–जोमसोम सडकको बेगखोला–तिप्ल्याङ खण्डमा १० दिनअघि भएको दुर्घटनाको निष्पक्ष छानबिन गर्न अन्नपूर्ण गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग माग गरेको छ ।

गत असार १४ को दिउँसो अन्नपूर्ण गाउँपालिका ७ घराम्दीबाट सदरमुकाम बेनी जाँदै गरेको लु२च २४५४ नम्बरको बोलेरो रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा सडकदेखि कालीगण्डकीमा खसेको थियो । जिपमा चालक र घराम्दीकी २० वर्षीया सविता नेपाली मात्रै थिए । घटनाको एक सातापछि चालक बेनी नगरपालिका ९ काउलेगाैंडाका ३१ वर्षीय रवि भनिने इन्द्रबहादुर खडका पक्राउ परेका छन् । तर, नेपालीको अवस्था अज्ञात छ ।

अन्नपूर्ण ७ का वडाध्यक्ष गमबहादुर पुनका अनुसार दुर्घटना भएको दिन बिहान घराम्दीमा गाउँसभाले गर्भवती सविता नेपालीलाई चालक खड्काको जिम्मा लगाएको थियो । बेनीबाट घराम्दीमा खडकाले जिपमा मालसामान ढुवानी गर्दै आएका थिए । बराबर आउजाउ गर्ने खड्का र घराम्दीकी नेपालीबीच प्रेम सम्बन्ध थियो । उनी ४ महिनाको गर्भवती रहेको खुलेपछि गाउँसभाले भेला बोलाएको थियो । त्यहाँ दुवैले एक–अर्कालाई स्वीकारेपछि भेलाले जिम्मा लगाएको थियो । उनले पत्नी स्वीकार गरी जिपमा राखेर घराम्दीबाट हिँडेका थिए । जिप बेनी नपुग्दै बाटैमा कालीगण्डकीमा बेपत्ता भएको थियो । खडकाले नियतवश जिप दुर्घटना गराई नेपालीको हत्या गरेको हुनसक्ने गाउँलेको शंका छ ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र नेपालीको खोजी गरिदिन संघ र प्रदेश सरकारसँग माग गरेको छ । घटनाको अनुसन्धान भइरहेको जनाएको प्रहरीले पनि चालक खडकामाथि शंका गरेको छ । ‘घटनास्थलको अवस्था, चालकको पोजिसन, गाडी छुट्नुअघि गाउँमा भएको घटनाक्रम र चालक एक सातापछि सकुशल फेला परेकाले दुर्घटना मान्न सकिन्न,’ जिल्ला प्रहरी प्रमुख डीएसपी वीरबहादुर बुढाले भने, ‘घटनाको अनुसन्धान जारी छ ।’