बेनपा-८ का योजनाहरुको स्थलगत अनुगमन

बेनी नगरपालिका–८ अन्र्तरगत सञ्चालित विकासे योजनाहरुको मंगलबार अनुगमन भएको छ । वडा कार्यालयको आयोजनामा जनप्रतिनिधि र कर्मचारी तथा स्थानीयद्वारा विकासका विभिन्न योजनाको स्थलगत अनुगमन गरिएको हो । वडा कार्यालय भित्र चालु आर्थिक बर्षमा सम्पन्न तथा निर्माणधिन अवस्थामा रहेका योजनाको अनुगमन गरिएको वडा अध्यक्ष एवम् प्रबक्ता रामकृष्ण बराइलीले बताए ।

पदमार्ग, मोटरबाटो, म्याग्दी नदी नियन्त्रण, कालिपुल बसपार्क, स्नानगृह, ढल निकासी, कर्वड हलको स्तरउन्नती लगाएतका योजनाको अनुगमन गरिएको थियो । बेनीबजारको माथिल्लो क्षेत्रबाट बर्षेनी आउने बाढी नियन्त्रणका लागि बनाइएको संरचनाले बाढी नियन्त्रणका लागि सहज भएको नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले बताईन् ।

अनुगमन टोलीले अस्पतालचोकबाट ज्यामुनाखर्क जोड्ने सडकमा आवश्यक सावधानी अपनाउने तथा निरन्तर बजेट विनियोजन गर्ने जनाएको छ । अनुगमन टोलीले वडाका करिव एकदर्जन योजनाहरुको अनुगमन गरेको थियो । सिमित बजेटमा समेत बजारभित्र जनताको सहभागिता उत्साहजनक रहेको बताइएको थियो । वडा कार्यालयबाट कालिपुल बसपार्क नजिक कालिगण्डकीमा स्नान गर्न मिल्ने स्नानगृहलाई थप ब्यवस्थित बनाउन सुझाव समेत दिइएको छ।

अनुगमनमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत लोकनाथ भुसाल, नगरकार्यसमिति सदस्य एवम् भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्मा, नगरपालिकाका लेखा प्रमुख युक्तप्रसाद शर्मा, इन्जिनियर बिमल केसी, वडा सदस्य हिरा पुन, हिम बहादुर भण्डारी, वडा सचिव कृष्ण सुबेदी लगाएतको उपस्थिति रहेको थियो । आगामी दिनहरुमा कमी कमजोरी सुधार गरेर अघि बढ्ने र विकासे गतिविधिमा स्थानीयले पनि सहयोग गर्नुपर्ने बताइएको छ ।