बाढीले पाइप बगाउँदा बस्तीमा खानेपानीको हाहाकार

मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउँदा दुईवटा बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम–टिकावाङ सडक विस्तारको क्रममा क्रममा निस्किएको माटोलाई सिधै खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करिब ३५ घरधुरीमा खानोपनीको समस्या भएको हो ।

सडक विस्तारको क्रममा मनपरी फालिएको माटोले पाइप बगाएपछि चारदिन देखी खानेपानी आपूर्ती बन्द भएको स्थानीय तारा बहादुर क्षेत्रीले बताए । ‘पटकपटक मर्मत गर्दा पनि बगाएको छ,‘धारामा पानी नआउँदा खोला र कुवाको पानी खानुपरेको छ’ उनले भने । पुनगैरामा १५ र दिही गाउँका २० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।

खानेपानीको पाइप बगाएपछि स्थानीयले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीय बल बहादुर विकले बताए ।‘सडकले पानीको मुहानमै असर गरेको छ,‘बर्खाको समयमा धमिलो पानीको प्रयोग गर्न बाध्य छौ’ विकले भने । उनका अनुसार पटकपटक मर्मत गरिएपनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षती पुगेको बताए ।

हिउँदमा समेत मुहान सुक्दा समस्या हुने गरेको बताउँदै बर्खामा पाइप बगाएपछि स्थानीयले दिर्घकालिन योजनाको माग गरेका छन् । यता बाढीले पाइप बगाएपछि गाउँपालिकाले उपलब्ध गराएको २ सय ६५ मिटर पाइप समेत बगाएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा सडक सञ्जाल विस्तार गरेसंगै खानेपानी र बस्ती नै जोखिममा परेको छ ।