गुर्जाका महिलाहरु बालबिवाहा,घरेलु हिंसा, मदिरा र जुवातास नियन्त्रण अभियानमा

0

म्याग्दीको अत्यन्त विकट मानिने धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका महिलाहरु बालबिबाहा,घरेलु हिंसा,मदिरा र जुवातास नियन्त्रण अभियानमा लागेका छन् ।

गुर्जामा सम्पन्न दुई दिने महिला शसक्तिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम पछि गुर्जाका जनप्रतिनिधि,शिक्षक र महिलाहरुले गाउँलाई बालबिबाहा,महिला हिंसा,मदिरा र जुवातास मुक्त गाउँ बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी गुनराम छन्त्यालले गाउँमा मदिरा सेवन,जुवातास निषेध गरिने प्रतिवद्धता जनाउनुभयो ।

गुर्जाका १ सय २० जना महिलाहरु सहभागि सो अभिमुखिकरण कार्यक्रममा अधिकांशले गुर्जाको सबैभन्दा ठूलो समस्या भनेको नै बालबिवाहा र महिला हिंसा भएको बताउँदैे पुरुषहरुबाट हुने मदिरा सेवन र जुवातास खेल्ने बानी नै मुख्य कारण भएकोले यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । त्यसैगरी स्थानीय गोर्खा छन्त्यालले आफूले खाएको भाँडा र लगाएको लुगा पनि अव आफैले सफा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

वडा सदस्य सीता छन्त्यालले महिलाहरु गर्भावस्थाबाट नै हिंशामा परिरहेका हुन्छन भन्दै आफू स्वयम् पनि त्यो हिंसाबाट पीडित महिला भएको र आफूलाई सक्षम र सचेत वनाउनका लागि धेरै संघर्ष गर्नुपरको अनुभव सुनाउनु भएको थियो ।
पुरुषहरुले मदिरा सेवन गर्ने,जुवातास खेलेर समय विताउने हुँदा महिलाहरु बढी प्रताडित हुनुपरेको महिलाहरुले बताएपछि पुरुषहरुले अवदेखि मदिरा सेवन र जुवातासतर्फ आफूहरु कहिल्यै नलाग्ने र अरुलाई पनि यसतर्फ लाग्न नदिने प्रतिवद्धता जनाएका अभिमुखिकरणका सहजकर्ता हिरा पौडेलले जानकारी दिनुभयो ।

पौडेलले भौगोलिक रुपमा विकट तथा छन्त्याल र दलित जातीहरुको मात्रै वस्ती रहेको गुर्जामा गरिवी,अशिक्षा र सचेतनाको कमीका कारण बालबिबाहा,घरेलु हिंसा,मदिरा सेवन र जुवातास खेल्ने जस्ता कुप्रवृतिहरु बढेकोले यसतर्फ स्थानीय सचेत हुनुपर्ने बताउनुभयो । महिला हिंसा रोक्नका लागि महिला आफै सचेत हुनुपर्ने,शैक्षिक र आर्थिक रुपमा महिलाहरु सवल भए भने मात्र घरेलु हिंसा न्युनिकरण हुन सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रम वडा सदस्य सीता छन्त्यालको अध्यक्षता, जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालको प्रमुख आतिथ्यता र शिक्षक अशोक छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।