सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी गरेको हो ।

परामर्शदाता कम्पनीमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिमचरणमा पुर्याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनोट गरेको छ ।

चालु आर्थिक वर्षमा रु चालीस लाख विनियोजन भएको रामयण पार्क बनाउने योजनालाई पूर्णता दिन आगामी वर्षका लागि रु ४२ लाख विनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

पुलाश्रममा रावण जन्मिएको ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । रामायणपार्क निर्माण भएपछि म्याग्दी हुँदै मुक्तिनाथ र मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटकलाई बेनीमा अडाउन सकिने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।

क्षेत्री समाज भवन निर्माण 

यसैबीच, बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ ।

ज्यामरुककोटमा रहेका क्षेत्रीबाट यथाशक्य चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलबहादुर कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार न्यूनतम तीन हजार भन्दामाथि चन्दा दिने दाताको नाम शिलालेखमा अंकित गरिने भएको छ ।