बेनी नगरपालिका वडा नं २ हाँडेभिरमा रहेको महिला उद्यमीको साझा सुविधा भवनमा पहिरोले क्षती पुगेको छ । शान्ति मिलन सामुदायिक बन क्षेत्रबाट झरेको सुख्खा पहिरोले भवनमा क्षती पुगेको हो । भवनको माथिल्लो क्षेत्रबाट खसेको पहिरोले म्याग्दी खोलाको नजिक रहेको भवन भित्र रहेको अल्लाको टान, अल्लोबाट उत्पादिन साम्रागी, गोदाममा क्षती पुगेको महिल उद्यमी विष्णु गुरूङले बताईन् ।

‘डेढ लाख बराबरको क्षती पुगेको छ,‘तत्काल मर्मत नगरे थप क्षती हुन्छ’ उनले भनिन् । उनका अनुसार भवनको छानामा क्षती पुग्दा पानी चुहिने समस्याले थप क्षतीको सम्भावनाा रहेको बताउँदै नगरपालिका र सरोकारवाला निकायलाई सहयोगको अनुरोध गरिएको छ । भवनमा ४ ओटा कोठा छन् । पहिरोको जोखिममा परेपछि उद्यमी समेत जान छोडेका छन् ।

जिल्लामा महिला उद्यमीलाई आयआर्जनमा सक्रिय बनाउन करिव एकदशक अगाडी निर्मित भवनको मर्मतमा समेत बजेट अभाव रहेको उद्यमीको भनाई छ । भवनमा दैनिक ७ जना उद्यमीले नियमित अल्लो पुवालाई प्रसोधन गरेर त्यसको धागोबाट कपडा, कोट, झोला, पर्स, सल र स्वीटर बनाउने गरेका छन् ।

यसैबीच सुख्या पहिरोले बेनी–बगरफाँट– सुर्केमेला सडकखण्डमा पैदलयात्रु र सवारीसाधनमा आवतजावत गर्नेलाई समेत जोखिम बनाएको छ । बन क्षेत्रबाट खस्ने ढुंगाले मानवीय क्षतीको सम्भावना भएकाले पैदलयात्रीलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।