विद्युतका कर्मचारीको मनपरी : कार्यालय बन्द गरेर कर्मचारी भोजमा

0
431

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रमा कार्यरत कर्मचारीहरुले सोमबार दिनभर कार्यालय बन्द गरेर भोज खान गएका छन् । चालु आर्थिक वर्ष २०७४÷७५ को अन्तिम दिन हिसाबकिताब मिलानका लागि कार्यालय बन्द गरेको सूचना सटरमा टाँसेर कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका–४, मिलनचोकस्थित सव–स्टेशन परिसरमा भोजमा रमाएका हुन् ।

कार्यालयमा कार्यरत प्रशासन, लेखा, प्राविधिकसहित सबै फाँटका कर्मचारीहरुले एकजना सवारी चालकलाई मात्र कार्यालयमा कुरुवा राखेर सेवाग्राहीको कामलाई बेवास्ता गर्दै विदा नभएको दिनमा पनि भोज खान गएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । बिना जानकारी कार्यालय बन्द गरिँदा महशुल बुझाउन, मिटर बक्स लिन, विभिन्न योजनाको भुक्तानी लिनुपर्ने कामका लागि आएका सेवाग्राहीहरु भने रित्तै फर्कन बाध्य भएको जिल्लाको रघुगंगा गाउँपालिका–३ का रमेश रानाले गुनासो गरे ।

मानो खाएर मुरी उब्जाउने समयमा घरको काम छाडेर विद्युत कार्यालयमा आए पनि दिनभर कार्यालय बन्द हुँदा आवश्यक काम हुन नसकेको उनको भनाई छ । कर्मचारीहरु भोजमा रमाइरहँदा सोमबार दिउँसो विद्युत आपूर्तिमा नियमितता हुन नसक्दा आजित भएका सेवाग्राहीहरुले कार्यालयमा फोन गर्दा फोन समेत उठेको थिएन् ।

यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विदा बाहेकको दिन कार्यालय बन्द गर्न नमिल्ने बताए ।उनले विद्युत प्राधिकरणले कार्यालय बन्द गर्ने विषयमा आफूलाई कुनै जानकारी नगराएको बताएका छन् । नियम विपरीत विना सूचना कार्यालय बन्द गरेर भोजमा गएको विषयमा छानबिन गरिने प्रजिअ अधिकारीले जानकारी दिए । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले भने आर्थिक वर्षको अन्तिम दिन हिसाब मिलान गर्नका लागि काउन्टर सेवा बन्द गरिएको बताउँदै अन्य काम नरोकिएको दावी गरे ।सन्दिप शर्मा