अस्ताईन परोपकारी मनकी धनी भद्रा गिरी

0

कालिगण्डकी नदीबाट ल्याएर गलेश्वर मन्दिर परिसरमा धारा बनाउने सरकारी योजनामा गलेश्वर शिवालय क्षेत्र विकास कोषको जेष्ठ नागरिक आश्रमकी भद्रा गिरीले १ लाख सहयोगको घोषणा गरिन् । कालिगण्डकीको पवित्र जललाई मन्दिर परिसरमै ल्याउने योजनाले धेरै खुसी भएकी गिरीले तत्कालै आफुँसंग भएको नगदलाई बैंकमा जम्मा गरेर धारा बनाउने अभियानलाई अगाडी बढाउन दबाव दिईन् ।

परिवारबाट अलग भएर ३० बर्षदेखी आश्रममा बस्दै आएकी गिरीले आफ्नो सम्पूर्ण सम्पत्ती शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा दान गरेर गत असार ३० गते संसार छोडेकी छन् । राखुभगवती स्थायी घरभई पर्वतको बाजुङमा विवाह गरेकी ८२ बर्षिय भद्रा गिरीले स्वर्गिय हरि सिंहको सम्झनामा लाखौं सहयोग गरेकी छन् । श्रीमानको मृत्यु भएपछि प्राप्त सेवासुविधा, सम्पत्तीलाई दान गरेर सकेको गलेश्वर मन्दिर क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बताए ।

‘उहाँले दान गरेको हिसावकिताव त छैन,‘आश्रममा बसेपनि उहाँले मन्दिरलाई ठुलो सहयोग गर्नुभएको थियो’ पराजुलीले भने । उनका अनुसार पेन्सन वापतको पैसाले आश्रममा कोठा समेत बनाएकी थिईन् । जिल्लाको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा शिवलिङ्ग निर्माणमा ४ लाख ६९ हजार, राजा भरतको मुर्ती १ लाख ५० हजार, जडभरत २ लाख १५ हजार, जेष्ठ नागरिकलाई भोजनको ब्यवस्थापन गर्ने अन्नक्षेत्रमा ३ लाख, शेषनाग र तुलकी मठमा २० हजार सहित विभिन्न सहयोग गरेको कोषले जनाएको छ । ‘उहाँ आश्रमकै परोपकारी माता हुन,‘उहाँको देहावसानले अपूरणीय क्षती पुगेको छ’ कोषका सचिव माधवप्रसाद रेग्मीले भने ।

उनले आश्रमकै साहसी, तपस्विनीको निधनले आश्रमका बृद्धबृद्धाले अभिभावक गुमाएको बताए । उनका अनुसार गिरीले करिव ५० लाखभन्दा धेरै दान गरेको बताए ।सम्पत्तीको नाममा आफन्तले दिने स्नेह देखावती भएको बताउँदै आएकी गिरीले आश्रमबाटै आफ्नो सबै सम्पत्ती दान गरेर संसार त्याग्ने बताउने गरेकी थिईन् । आश्रम भित्र रहेका बृद्धबृद्धालाई समेत उनले आर्थिक सहयोग गर्ने गरेकी थिईन्।ब्यक्तिगत रुपमा आर्थिक अवस्था कमजोर भएका जेष्ठ नागरिकलाई औषधी खरिद,लत्ताकपडा लगाएतमा सामान समेत सहयोग गर्ने गरेको उनले बताए ।

अन्नदान क्षेत्रकी कोषाध्यक्ष समेत रहेकी गिरी, गलेश्वर शिवालयको आजिवन सदस्य समेत हुन् । उनलाई परोपकारी आमाको सम्मान समेत दिइसकिएको छ ।मन्दिरमा १०८ शिवलिङ्ग स्थापना गरेपछि सपनामा श्रीमानले धन्यवाद दिएको भन्दै उनले त्यसपछि बर्षेनी ठुलो सहयोग गर्ने गरेकी थिईन् । गलेश्वरको मूल मन्दिरभित्र स्थापना गरिएको शङ्कर भगवानको परिवार, दुर्गामाता, मृगसहितको राजा भरत र गलेश्वर बाबाको मूर्तिको अनावरणमा समेत दान गरेकी थिईन्।

गलेश्वरमा रहेको जडभरत आधारभुत विद्यालयमा समेत १ लाखको अक्षयकोष स्थापना गरेकी थिईन् ।गिरीले सहयोग गर्न थालेपछि आश्रमका अन्य जेष्ठ नागरिकले समेत आफुँसंग भएको रकम सहयोग गर्न थालेका थिए । मन्दिर बाहेक देवघाट, पर्वत लगाएत देशका विभिन्न क्षेत्रमा रहेको धार्मिकस्थलमा समेत सहयोग गरेकी थिईन् ।

महायज्ञ, हरेक सोमबार पुजामा समेत आर्थिक सहयोग गर्ने गरेकी गिरीको निधनले आश्रम शोकमा डुवेको छ । आश्रम भित्रका बृद्धबृद्धाको आँखा रसाएका छन् । आश्रममा रहेको गिरीको कोठामा पुगेर दैनिकजसो बृद्धबृद्धाले उनलाई सम्झने गरेका छन् । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्ति क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।