‘दाङखोलाको बेलिब्रिजमा कुनै अनियमितता भएको छैन’ :गाउँपालिका

0

धवलागिरी गाउँपालिकाले समाजिक सञ्जालमा भाइरल भएको गाउँपालिका ७ र मालिका गाउँपालिका ५ को सिमाना फेदी स्थित दाङखोलामा बेलिब्रिज का बारेमा अनावश्यक आरोपको खण्डन गरेको छ । गाउँपालिकाले बिहिबार सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थमसरा पुन मगरले विकास निर्माणमा गाउँपालिकाले प्राथमिकता दिएर काम गर्दा टिकाटिप्पणी हुने गरेको बताईन् ।

उनले गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ गुर्जाका जनतालाई बर्षाको समयमा हुने सास्तीलाई मध्यनजर गरी पुलमा बजेट विनियोजन गरिएको बताईन् । ‘सिमित बजेटमा हामीले सकेसम्म जनताको समस्यालाई ध्यान दिएर विनियोजन गरेका छौ,‘उपभोक्ता समिति मार्फत गरिएको काममा कुनै कमजोरी भएको छैन’ उनले भनिन् ।

बेलिब्रिज नामाकरण गरिएको अस्थाई प्रकृतिको मोटरेबल पुल भएको बताउँदै गुणस्तर, लागत, दिगोपनाका बारेमा आवश्यक परेमा स्थलगत रुपमै पुगेर समेत देखाउन सकिने बताईन् । पत्रकार सम्मेलनमा अध्यक्ष पुनले सामाजिक सञ्जालमा गरिएको आरोपमा सत्यता नभएको बताउँदै उपभोक्ता समितिले सम्झौता अनुसार नै काम गरेको बताईन् । उनले सामाजिक सञ्जालमा काठलाई आधार बनाएर टिप्पणी गरिएको बताईन् ।

पुलको स्थलगत अनुगमन गरी छानविन गर्ने निकायलाई सहयोग गर्ने अध्यक्ष पुनको भनाई थियो । गाउँपालिकाको चौबिस लाख ९६ हजार र उपभोक्ताको दुई लाख ८९ हजार ८८५ रुपैया लगानीमा पुलको जग खन्ने, सोलीङ गर्ने, पिसीसी, आरसीसी ढलान गर्ने, ग्यावियन पर्खाल लगाउने काम भएको प्राविधिक बालकृष्ण पौडेलले बताए ।‘उपभोक्ता समितिको सक्रियतालाई नजिकबाट देखेका छौ,‘इस्टिमेट भन्दा एक इन्च तलमाथी भएको छैन’ पौडेलले भने ।

पुलमा प्रयोग भएका आठ वटा मध्य तिन वटा फलामको बिम दरवाङबाट पुरानो लगीएको र पाच वटा बिम गाउँपालिकाले खरिद, ढुवानी गरेर उपलब्ध गराएको हो ।बिम खरिद, ढुवानी, फिटीङ, जडान, फेब्रिकेशन र कलरीङ गर्ने कार्यमा गाउँपालिकाको तर्फबाट नियमित अनुगमन गरेको पौडेलको भनाई छ ।

जगदेखि पाँच मिटर २० सेन्टि मिटर अग्लो तिन वटा पक्कि पिल्लर रहेकोमा दाया बायाको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर छ । पुलको लम्बाई १८ मिटर र चौडाई ३.५ मिटर छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष रेशम छन्त्यालले बर्खाको समयमा काम गरेर उपभोक्ता समितिलाई धन्यवाद दिनुको भन्दा पनि आलोचना गरी ग्रामिण क्षेत्रमा उपभोक्ता समितिलाई नै त्रसित बनाउने प्रयास भएको बताए । उनले अनियमितताको आरोप तथ्यहिन भएको बताउँदै स्वदेश तथा विदेशमा रहेका म्याग्दीबासीलाई भ्रमको पछाडी नलाग्न अनुरोध गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको समेत उपस्थिती रहेको थियो ।

सल्लाको काठ चोरी, उपभोक्ता समिति अझै ५ लाख ऋणमा

पुलमा आवश्यक पर्ने काठ चोरी भएको उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष भिमप्रसाद छन्त्यालले पुललाई अवरोध गर्ने प्रयास भएको बताए । उनले गाउँपालिकाले उपलब्ध गराएको काठलाई नै प्रयोग गरेको बताउँदै एकपटक करिव १ लाखको काठ चोरी भएको बताए । उनले पुलमा कुनैपनि अनियमितता नभएको बताए । ‘मेरो ब्यक्तिगत खर्च भएको छ,‘राम्रो काम गरेका थियौ, अहिले अनियमितताको बिल्ला भिराइएको छ’ उनले भने । उनले दुईपटक काठको तयारी गर्नुपरेको बताए ।

ईस्टिमेट र सम्झौतामा नभएपनी जगको खाडलबाट पानी पम्पिङ गरेर फाल्ने र दरवाङबाट तिन वटा फलामको बिम ढुवानीमा उपभोक्ता समितिलाई ४ लाख ९७ ऋण लागेको बताए । उनले मालढुङ्गा बेनी सडकमा समेत बनाएर एक दशक भन्दा बढी समय प्रयोग गरिएको पुल भन्दा एक इन्च फरक नभएको बताए । गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत दाङखोलामा बर्खाको समयमा बाढी आउँदा सवारी आवत जावत अवरुद्ध हुने समस्या थियो । खोलामा जोखिम मोलेर सवारी साधन तार्नुपर्ने र गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ ।