बाढीपहिरोको जोखिम बढेपछि उत्तरी म्याग्दी हुदै मुस्ताङ जोड्ने एक मात्र सडक सञ्जाल बेनी–जोमसोम – कोरला सडकखण्ड रातको समयममा बन्द हुने भएको छ ।

सडकखण्डमा साना–ठुला पहिरोले ठाउँठाउँमा अवरुद्ध भएपछि रातको समयमा यात्रुको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन ५ गते शनिबार देखी भदौ ३१ गतेसम्म गलेश्वर देखी जोमसोम तर्फ जाने सवारीसाधनलाई बेलुकी साढे ५ बजे देखी बिहान ५ बजेसम्म र मुस्ताङको थासाङ गाउँपालिकाको घाँसाबाट बेनी तर्फ आउने सवारीसाधनलाई बेलुकी ६ बजे देखी बिहान ५ बजेसम्म पूर्ण रुपमा आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनका अनुसार स्थानीय यातायात ब्यवसायीले समेत निर्णयलाई कार्यान्वयन गर्ने र बाहिरी जिल्लाबाट आएका सवारीसाधनलाई बन्द समयमा आवतजावत गरेमा प्रहरीले रोक लगाउने बताए । सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रकेरले कडा चट्टान आसपासमा पहिरोले यात्रु घण्टौ अलपत्र पर्नुपरेको छ ।

गतबर्ष सुख्खा पहिरो पन्छाउन विष्फोटक पर्दाथ प्रयोग गरिएकाले पनि थप जोखिम बनेपछि छिमेकी जिल्ला मुस्ताङ संग समेत समन्वय गरी सडकखण्डलाई सुरक्षित बनाउने प्रयास गरिएको जनप्रतिनिधिको भनाई छ । विहान र दिउँसो सडकखण्ड समय तालिका अनुसार बन्द हुने गरेको छ । दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनका अनुसार रातको समयमा गरिएको बन्दले यात्रुलाई सहज भएको बताए । बाहिरी जिल्लाबाट आउने सवारीसाधन जवरजस्ती रातीमा चलाउने गरेकाले पहिरोले अलपत्र पर्ने गरेको बताए ।