गुर्जाको सार्वजनिकस्थलमा जुवातास-मदिरा निषेध

0

धवलागिरी गाउँपालिका–१ गुर्जामा सार्वजनिकस्थलमा मदिरा र जुवातास निषेश गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जालाई सामाजिक विकृति, कुलतबाट मुक्त गर्ने अभियान अन्तरगत वडा कार्यालयले गरेको प्रस्तावलाई स्थानीय हिमाली आमा समुहले साउन ३ गते देखी लागु हुनेगरी सार्वजनिकस्थलमा मदिरा सेवन र जुवातास प्रतिबन्ध लगाएको हो ।

गाउँमा विवाह, छेवर लगाएत सामाजिक कार्यमा विहान ५ बजे देखी बेलुकी ६ बजेसम्म मदिरा उत्पादन,सेवन, विक्री वितरण नगर्ने र नगराउने गाउँले प्रतिबद्धता जनाएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।‘मदिरा स्वास्थ्य र समाजका लागि ठूलो समस्या बनेको छ’,‘उत्पादन र प्रयोगलाई घटाउने रणनीति बनाइरहेका छौ’ छन्त्यालले भने ।

मदिरा उत्पादन, विक्रीवितरण, जुवातासलाई नियन्त्रण गर्ने स्थानीय आमा समुह, यूवा क्लव,विद्यालय लगाएतका संघसंस्थाको प्रतिबद्धताले समेत कार्यान्वयनमा सहज भएको बताए । दलित र छन्त्याल जातीले विवाह, छेवर तथा ब्यक्तिगत पुजा लगाएतका कार्यक्रममा समेत दिउँसै मदिराको प्रयोग गर्ने गरिएको थियो।  दिउँसो खेतीपातीमा समेत नगई मदिरामा लठ्ठ पर्नेहरुको सूची समेत वडा कार्यालयले आमा समुह मार्फत तयार पारी निगरानी बढाउने हिमाली आमा समुहकी अध्यक्ष ज्ञान कुमारी छन्त्यालले बताईन् ।

उनले मदिरा सेवन गर्ने बानी भएकाहरुले हरेक दिन दिउँसै सेवन गर्दा खेतीपाती र अन्य उत्पादनका क्षेत्रमा समेत बेवास्था गर्दा महिलालाई समस्या हुने गरेको बताईन् ।आमा समुहले जनप्रतिनिधिले गरेको निर्णयलाई स्वागत गदैं सामुहिक प्रतिबद्धता लगाएतका कार्यक्रमहरु समेत राख्ने तयारी गरेकाछन् । जिल्लाकै अति विकट मानिने गुर्जामा २ सय ३० घरधुरी रहेको छ । ८० प्रतिशत छन्त्याल र २० प्रतिशत दलित समुदायको बसोबार रहेको गुर्जामा जनचेतनामुलक अभियानले समेत तिब्रता पाएको छ ।