बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित धार्मिक—ऐतिहाँसिक तथा सामरिक महत्वको खड्गभवानी कोतसम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले रत्नेचौर—ज्यामरुककोट हुँदै भकिम्लीको बेलढुङ्गा जोड्ने पदमार्गका लागि पहिलो चरणमा उपलव्ध गराएको ६ लाख रुपैयाँ मध्ये १ लाख ८८ हजार ७ सय ४५ रुपैयाँको लागतमा भकुण्डेदेखि खड्गभवानी कोतखण्डको ५७ मिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ओमवहादुर विकले जानकारी दिनुभयो ।

अध्यक्ष विकका अनुसार रत्नेचौर र भकिम्लीमा पनि पदमार्ग निर्माण सम्पन्न भैसकेको छ । भकुण्डेदेखि खड्गभवानी कोतसम्म पुग्ने उकालो बाटोमा पक्की सिढी निर्माण भएपछि कोटडाँडाका स्थानीयवासी तथा सर्वसाधारणलाई आवतजावतमा सुविधा पुग्नुका साथै कोतडाँडामा पुग्ने आन्तरिक पर्यटक र खड्ग भवानी मन्दिरमा पुजाआजा गर्न जाने भक्तजनहरुलाई सहज भएको छ । दुई मिटर चौडाइ र ५७ मिटर लम्वाइको सो पक्की पदमार्ग निर्माण भएपछि खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको बृद्धि हुने विकले बताउनुभयो ।

जिल्लाकै ऐतिहाँसक खड्गभवानी कोतमा भौतिक पूर्वाधारहरु निर्माण गर्नसक्ने हो भने पर्यटकीय स्थल बन्न सक्ने प्रवल सम्भावना रहेको छ । खड्गभवानी कोट परिसरबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,गुर्जा लगाएतका हिमश्रृङ्खला,कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य, बेनी बजारको सौन्दर्य, म्याग्दी,बागलुङ,पर्वत र कास्की जिल्लाका ग्रामिण भेगहरु, बनजङ्गल र विभिन्न खोलानालाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

विज्ञापन