धवलागिरी गाउँपालिका–७ ताकम धारापानीकी १३ बर्षिया एक बालिका बेपत्ता भएकी छन् । गाउँकै किसानी मावि धारापानीमा कक्षा ६ मा अध्ययरत बिचिन बानियाँ गत साउन ३ गते बाट बेपत्ता भएकी हुन् । गाउँबाट सदरमुकाम बेनीमा रहेका मामालाई भेट्न जान्छु भन्दै हिडेकी बानियाँ सम्पर्कविहिन भएको धारापानीका यूवा सरोज थापाले बताए ।

‘बेनी आएपनि सम्पर्क नभएपछि खोजीकार्य सुरु गरिएको छ,‘कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको आशंक गरिएको छ’ थापाले बेनीअनलाइनलाई भने । धारापानीबाट पैदलमार्ग हुदै मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आएकी बानियाँ त्यहाँबाट बसमा बेनीसम्म आएको परिवारको भनाई छ ।

बेनी नगरपालिका नजिक रहेको जीप काउण्टरमा आसपासमा रहेको सिसी क्यामेराको फुजेटमा बानियाँ संगै उनको उमेरको बालिकालाई एक अपरिचित यूवाले नजिकबाट निगरानी गरेको जस्तो देखिएको भन्दै परिवारले खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । काउण्टरबाट बहुउदेश्यीय मैदान हुदै दुई बालिका र एक बालक गएको देखिन्छ ।

बालिका बेनीमा रहेका मामा केशर बहादुर थापालाई भेट्न भन्दै घरबाट हिडेपनि सम्पर्कमा नपुगेपछि हराएको दिनबाटै खोजीकार्य सुरु भएको आमा मैना बानियाँले बताईन् । ‘गाउँबाट दरबाङ तर्फ गएको सुनेपछि खोजीकार्य तिब्र बनाएका छौ,‘कसैलै प्रलोभनमा पारेर लगेको हुनसक्छ’ उनले भनिन् । प्रहरीले बालिकालाई कसले बेपत्ता बनायो वा उनी आफै हराइन् भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीले छिमेकी जिल्ला बागलुङ र पर्वतमा समेत खोजीकार्यका लागि हुलिया पठाएको छ । सम्पर्क नम्बर 9806141857 मा सम्पर्क गरिदिन बालिकाको परिवारले अनुरोध गरेको छ ।