साउन महिनाको पहिलो सोमबार म्याग्दीको गलेश्वर मन्दिरमा शिवको दर्शन गर्नेको घुँईचो लागेको छ। बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा जिल्लाका विभिन्न स्थानका साथै पर्वत, बागलुङ, कास्की लगाएतका जिल्लाबाट भक्तजन दर्शका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । ‘यो महिना चारवटा सोमबार परेको छ ।भक्तजनलाई सहज आवतजावतको ब्यवस्था मिलाएका छौ’ उनले भने ।उनका अनुसार जिल्लाभित्र र छिमेकी जिल्लाबाट कम्तिमा तीनवटा सोमबार गलेश्वरमा दर्शन गर्न आउने गरेको बताए ।

साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अबिवाहितहरु सुयोग्य बरको कामना गर्दै चोखो निष्ठ गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्छन् । कालिगण्डकीको किनारमा चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा शिवको पुजाका लागि आएका भक्तजनलाई ब्यवस्थित क्षेत्र विकास कोष, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी, गलेश्वर आमा समुह, लगाएत विभिन्न संघसंस्थाले स्वयमसेवकको भुमिका निर्वाह गरेका थिए ।

प्रतिकुल मौसम, अवरुद्ध सडक र खेतीपातीको चटारोका विच पनि विहानको समयमै घुईचो लागेको क्षेत्र विकास कोषका कार्यालय प्रमुख राम बानियाँले बेनीअनलाइनलाई बताए । विहानको समयमा बर्षात भएकाले पनि दिउँसो भीड हुने अनुमान गरिएको छ । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्ति क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ ।

साउने सोमबार प्रशिद्ध धार्मिकस्थल गलेश्वरका साथै अन्य धार्मिक क्षेत्रमा दर्शन गर्न जाने भक्तजनले महिला तथा युवतीले हरियो चुरा सहितको पहिरनमा जाने गर्दछन् । मन्दिरमा संकलन भएको भेट्टीले पुर्वाधार थपका साथै जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकलाई भोजनको ब्यवस्था सहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।