कृषि प्राविधिक शिक्षामा छात्राको आकर्षण बढ्दो

0
470

मालिका गाउँपालिका वडा नं ७ विममा अवस्थित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि छात्र (केटा) को तुलनामा छात्रा (केटी)हरुको आकर्षण बढ्दै जान थालेको छ । धु्रबसागर शर्माको रिपोर्ट
२०६९ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए र गतवर्षदेखि ३ वर्षे आइ.एस.सी (एजी) तहको पठनपाठन शुरु गरेको शिक्षालयमा छात्राहरुको आकर्षण बढ्दै गएको हो ।

शिक्षालयमा अहिले सुर्खेत,जुम्ला,हुम्ला,मुगु,कैलाली, चितवन,कास्की,बागलुङ,म्याग्दी लगाएत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आएका शिक्षालयका संयोजक करन कडेलले बताउनुभयो । संयोजक कडेलका अनुसार जेटिए र आइ.एस.सी (एजी) विषयमा १ सय २३ जना विद्यार्थीहरु अध्ययनरत छन् । ती मध्ये ७३ जना छात्रा र ५० जना छात्र रहेका छन् । मासिक ५ हजार रुपैयाँमा आवासीय सुविधा सहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीहरुको चाप बढ्दै गएको हो ।

आइ.एस.सी (एजी) प्रथम सेमिस्टरमा अध्ययनरत पर्वतकी गरिमा नेपालीले नेपाल कृषीप्रधान देश भए पनि अधिकाँश जग्गामा व्यवसायिक रुपमा खेती नगरिदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि कृषकहरुलाई परम्परागत तरिकाले होइन आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिक रुपमा खेती गर्न सिकाउने उद्धेश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।

त्यसैगरी एजी दोस्रो सेमिस्टरमा अध्ययनरत सन्देश भण्डारीले नेपाली युवालाई व्यवसायिक कृषितर्फ प्रोत्साहित गरी कृषि उत्पादनमा बृद्धि गर्ने र कृषिबाट नै आय आर्जन गर्न सकिन्छ भन्ने चेतना विस्तार गर्नका लागि आफूले कृषि विषय रोजेको बताउनुभयो ।१८ महिने जेटिएमा अध्ययनरत जमुना घिमिरेले अझैपनि कृषि पेशा परम्परागत तरिकाले गरिदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रुपमा व्यवसायिक कृषि पेसा सिकाउने उद्धेश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताउनुभयो ।

नेपालकै नमूना प्राविधिक शिक्षालयको रुपमा परिचित यस शिक्षालय स्थानीय स्रोतका भरमा शिक्षकहरुलाई तलव खुवाएर संचालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका विमवासीको सहयोगमा शिक्षालय संचालन भैरहेको शिक्षालयका प्रमुख एवम् किसानी माविका प्रधानाध्यापक जङ्गवहादुर गर्वुजाले बताउनुभयो । विद्यार्थीहरुलाई प्रयोगात्मक विधिद्धारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यवसायिक कृषि’ भन्ने मूल उद्धेश्यका साथ कृषि प्राविधिक शिक्षालय संचालन गरिएको शिक्षालयका प्रमुख गर्वुजाको भनाइ रहेको छ ।

गर्वुजाका अनुसार आगामी वर्षदेखि कृषिका साथै भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचार सम्वन्धि) शिक्षा पनि प्रदान गरिने भएको छ ।जिल्लाको दुर्गम गाउँमा संचालित व्यवसायिक शिक्षालयमा कृषि विषय अध्ययन प्रति छात्राहरुको बढ्दो आकर्षणलाई दीगो राख्नका लागि प्रयोगात्मक शिक्षण पद्यतीमा ध्यान दिनुका साथै शिक्षा लिइसकेपछि उनीहरुलाई रोजगारीको ग्यारेन्टी हुन आवश्यक देखिएको छ ।