गुण्डागर्दीको शैलीमा बगरफाँटको पसलमा चोरी

0

बेनी नगरपालिका २ बगरफाँटमा रहेको एक पसलमा गएराती गुण्डागर्दीको शैलीमा पसलको ढोका फोडेर सामान चोरी भएको छ ।बगरफाँटको डम्मराजोड्ने झोलुङ्गे पुल नजिकै रहेको गोविन्द शर्माको पसलमा राती करिव साढे २ बजे केही उश्रृङ्खल युवाहरुको समूहले ठूलो ढुङ्गाको सहायताद्धारा ढोका फोरेर चोरी गरेका पसल संचालन शर्माले बताए ।
बेलुकी करिव ९ बजे पसल वन्द गरेर आफू घरमा सुत्न गएको बताउँदै शर्माले राती पसलमा कोही नवस्ने जानकारी भएका व्यक्तिहरुबाट नै चोरी भएको हुनसक्ने जिकिर गरे ।

पसलमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराउन १०० नम्वरमा डायल गर्दा कुश्मामा उठेको र राती ३ बजे मंगलाघाटस्थित प्रहरी चौकीमा जानकारी गराउँदा प्रहरीबाट ‘केके चोरी भएको छ टिपाउनुहोस्,अहिले राती सकिदैन भोली बिहान गएर हेरौँला’ भन्ने जवाफ प्राप्त भएपछि आफू निराश भएर फर्किनु परेको शर्माको भनाइरहेको छ। सदरमुकाम बेनीदेखि पैदल आधाघण्टा र मंगलाघाट प्रहरीचौकीबाट १५ मिनेटको दुरीमा रहेको स्थानमा चोरी हुँदा र चोरी कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई पक्रन सक्ने प्रवल सम्भावना रहदा पनि प्रहरीको असहयोगका कारण चोरहरु उम्किन सफल भएको शर्माले दुखेसो गरे ।

‘चोरहरु गुण्डागर्दी शैलीमा आएर ढुङ्गाले ढोका फोरेर सामान लिई भागेका छन्,तत्कालै प्रहरीलाई खवर गर्दा १०० नम्वरमा कुश्मामा उठेपछि एकजना साथी लिएर मंगलाघाट प्रहरी चौकीमा गई जानकारी गराउँदा पनि प्रहरी आउन मानेन’ शर्माले भने । शर्माका अनुसार खेत रोप्नका लागि पानी लगाउँदै गरेका स्थानीय भक्तवहादुर घिमिरेलाई चोरी कार्यमा संलग्न व्यक्तिमध्येको एकजनाले पसल नजिक आएपछि मारिदिने धम्की दिएका थिए ।

डरका कारण खेतमा पानी लगाउँदै गरेका घिमिरे त्यो बाटो नभएर अर्कोबाटोबाट आफ्नो घर गएका घिमिरेको भनाइ उद्धृत गर्दै पसल संचालक शर्माले बताए ।चोरले पसलको ढोका फोरेर केही बोतल वियर,चाउचाउ, लगाएतका केही सामानहरु लगेको र पसलबाट चोरेर लगेका सामानहरुमध्ये केही सामानहरु बोटोमा फालिएको अवस्थामा भेटिएका शर्माले जानकारी दिए । वियरका वोतलहरु बाटोमा फोडिएका शर्माको भनाइ रहेको छ । दिनभरी व्यापार गरेको नगद भने घरमा लैजाने गरेकोले चोरी नभएको उनले बताए ।