परिवारबाट सम्पर्कविहिन भएको १६ बर्षपछिट बेनी नगरपालिका–३ भकिम्ली सिमका विक्रम पुनमगर भेटिएका छन् । काठमाण्डौको सामाखुसीबाट बि.श २०५९ जेठ ७ गते हराएका पुनलाई तिलोत्तमा नगरपालिका–१५ कटिहवा रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रमबाट परिवारलाई जिम्मा लगाइएको छ । अभिभावकसंगै शिक्षादिक्षा र ब्यापारको सिलसिलामा भकिम्लीबाट काठमाण्डौको सामाखुसीमा पुगेका पुनलाई अपहरण गरी बेपत्ता बनाएका थिए ।

अपरिचित ब्यक्तिको फन्दामा परेपछि खोजीकार्यमा डेढदशक विताएपनि फेला नपरेपछि आश मारेको अवस्थामा आश्रममा छोरालाई भेटेको विक्रमका पिता दिलिप पुनमगरले बताए । ‘छोरालाई आँखा अगाडी देख्दा पनि सपना जस्तै लाग्यो,‘जीवनमै सबैभन्दा खुसी छु’ दिलिपले बेनीअनलाइनलाई भने । रोजगारको सिलसिलामा साउदी अरवबाट दुर्घटनामा परेर घर फर्किएपछि छोराछोरीको शिक्षादिक्षा र ब्यवसायका लागि काठमाण्डौमा पुगेपनि छोरा बेपत्ता भएपछि १६ बर्षसम्म खोजीकार्यमै विताएको उनले बताए ।

तत्कालिन समयमा सञ्चारमाध्यमबाट सुुचना, नेपालमा विभिन्न स्थानमा पुगेर खोजीकार्य गर्दा समेत नभेटिएपछि छोराको आश मारेको बताए । सामाखुसीबाट ६ बर्षको उमेरमा बेपत्ता भएका पुनलाई सहयोगमा गत साउन ५ गते नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।

उत्तरप्रदेशमा रहेका नेपाली संघसंस्था र प्रहरीको सहयोगमा ४ नेपालीलाई अभिभावकको खोजीकार्य नहुदाँसम्म नेपाल अविनाश अनाथ आश्रमको जिम्मा लगाइएको अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले बताए ।उनका अनुसार पुनमगरका बारेमा जानकारी पाएलगत्तै खोजीकार्य गरिएको बताए । रुपन्देही प्रहरीले समेत अभिभावकको हुलिया, पुराना निवेदन लगाएतका कागजातलाई पुष्टि गरेपछि बुधबार परिवारको जिम्मा लगाएका थिए । आश्रममा रहेकी भकिम्लीकी पवित्रा विकको सहयोगमा प्रहरीले विक्रमका परिवारलाई भेटेका थिए ।

‘एउटै गाउँका भएकाले पनि खोजीकार्यमा सजिलो भयो,‘भारतबाट धेरे नेपाली बालबालिकालाई आश्रममा आउने गरेका छन्’ उनले भने । छोरा भेटिएपछि परिवारमा खुसीयाली छाएको छ । ‘छोराका खोजीमा विताएका सबै दुख विर्सिएको छु,‘छोरालाई भगवानले जोगाएर घर फर्काइदिनुभयो’ विक्रमकी आमा रन्जिताले भनिन् । छोरा हराएपछि आँसुमा डुवेको भएपनि अहिले आफन्तलाई छोरा भेटिएको खवर सुनाइरहेको बताईन् । छोरा भेटिएपछि पुन दम्पत्तीले आश्रममा खुसी साटासाट गरेका थिए । पुनमगर दम्पत्तीले छोरालाई लिएर फर्किएका छन् ।