अव २० दिनमा म्याग्दीमै आउँछ राहदानी

0
550

साधारण सेवाबाटै राहदानी बनाउन काठमाण्डौ जाने योजना बनाउनु भएको छ ? अव आवेदन लिएर राजधानी पुग्दा लाग्ने समय र खर्चबाट तपाईलाई राहत मिल्ने भएको छ । अब आवेदन दिएको दिनको बढीमा २० दिनभित्र म्याग्दीबाटै राहदानी पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले चालु आव २०७५÷०७६ मा सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्ययोजना अन्र्तरगत काठमाण्डौसम्म जानुपर्ने झन्झट, समय र अनावश्यक खर्चलाई घटाउने गरी आवेदन दिएको २० दिनभित्र राहदानी हातमै उपलब्ध गराउने जनाएको छ । शुक्रबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कार्यालयबाट उपलब्ध सेवालाई थप प्रभावकारी बनाउने बताए ।

‘हामीले संकलन गरेको आवेदनलाई पोखरा हुदै काठमाण्डौ पु¥याउनुपने बाध्यता थियो,‘अव हामीले सिधै काठमाण्डौ पठाउँछौ,‘पोखरामा होल्ड हुने समयमा काठमाण्डौबाटै आइपुग्छ’ प्रजिअ अधिकारीले भने । उनले हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार राहदानी लिएर जाने कर्मचारीलाई कार्यालयको बजेट भित्रबाट ब्यवस्था गरिने बताए । विगतमा साधारण सेवाबाट ५ हजार राजश्व तिरेर आवेदन दिएकाहरुले ४५ दिनमा पाउने ब्यवस्था भएपनि २ महिनासम्म पनि हातमा राहदानी नपरेको गुनासो गर्ने गरिएको थियो ।

जिल्लाबाट धेरै पैसा तिरेर पाइने दु्रत सेवाका लागि काठमाण्डौ जाने बाहेक साधारण सेवा तर्फ १५ देखी २० दिनभित्र उपलब्ध गराउन राहदानी विभागले समेत प्रतिबद्धता जनाएको बताए । उनले राहदानी विभागबाट प्रतिबद्धता प्राप्त भएपछि संकलन गरिएका फर्मलाई रात्री बसमा कर्मचारी मार्फत काठमाण्डौ पठाउने बताए । साधारण सेवाबाट समेत सर्वसाधारणले अनावश्यक समय र खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्ने बताए ।

प्रजिअ अधिकारीले जिल्ला प्रशासन कार्यालयको वेवसाइटमा पनि जानकारी राखिने बताए । राहदानी बनाउन जिल्ला बाहिर रहेका म्याग्देलीले समेत अव दोब्बर राजश्व तिरेर पासर्पोट बनाउनुभन्दा आफ्नै जिल्लामा २० दिनभित्र राहदानी लिनु राम्रो हुने सहायक प्रजिअ एवम् सुचना अधिकृत लिलादेवी अर्यालले बताईन् ।

यो सुविधाले काठमाडौंसम्मको यात्रा, आफ्नो नागरिकता बनेको जिल्लामा प्रमाणित गर्ने सबै कार्यले गर्दा दुई साताभन्दा बढी नै लाग्ने हुनाले आफूले नागरिकता लिएको जिल्ला वा बसाइँ सरेको जिल्लाबाट नै राहदानी लिन उचित हुने भएको छ । यसैबीच प्रशासनले चालु आवको कार्ययोजना बनाएको छ । कार्यालयबाट उपलब्ध गराउने सेवासुविधा, बजार अनुगमन, घुम्ती सेवा लगाएत जनतालाई सहज सेवा उपलब्ध गराउने गरी कार्ययोजना बनाइएको छ ।