आइतबार दिउँसो कुपण्डोलस्थित एउटा घरमा सुरज कार्की ड्रोन (फिक्स्ड विङ मोडल) को प्रोग्राम भेरिफिकेसनमा व्यस्त थिए। इलेक्ट्रिकल इन्जिनियर कार्कीले ड्रोनको परीक्षण गरिरहँदा उनको समूहका अन्य साथी त्यसको सफ्टवेयर र हार्डवेयर परीक्षणमा जुटेका थिए।

ड्रोनमा कुनै खराबी नआओस् भनेर मिहिन परीक्षण गरिरहेका उनले आफ्नो समूहले निर्माण गरेको विमान देखाउँदै भने, ‘हामीले धेरै काम सकिसकेका छौं, भोलि उडान गर्दा कुनै समस्या नआओस् भनेर अहिले फ्याक्ट्री टेस्ट गरिरहेका छौं। यसपछि बाहिर परीक्षण गर्छौं।’माथिको दृश्य म्यागासेसे पुरस्कार विजेता महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रको हो।

अहिले त्यहाँ केही ऊर्जाशील युवा वैज्ञानिक ड्रोन निर्माणमा जुटेका छन्। केन्द्र संस्थापक पुनले सडकको नपुगेका र आपतकालीन स्थितिमा औषधि ढुवानी सहजतापूर्वक गर्न ड्रोन निर्माणमा लागि परेको जानकारी दिए।  उनले भने, ‘हामीले देशका दुर्गम क्षेत्र लक्षित गरी ड्रोन निर्माण गर्न लागेका हौं। यसको परीक्षण र आवश्यक सुधारको काम भइरहेको छ, ३÷४ महिनामा काम सकिन्छ।’  ड्रोन निर्माणमा विदेशमा बस्ने नेपालीले पनि सहयोग गरिरहेका छन्। चार पांग्रा भएको मल्टि रोटरदेखि आठ पांग्रा भएको क्वार्ड कप्टर (ड्रोन) निर्माण भइरहेको छ। केन्द्रले यसअघि म्याग्दीमा औषधि ढुवानी गरेर ड्रोनको सफल परीक्षण गरिसकेको छ।

‘अहिलेका सबै गाडी कच्ची सडकमा गुड्न सक्दैनन्, त्यसैले त्यस्ता सडकमा गुड्न सक्ने कारको डिजाइन हुँदैछ।’ महावीर पुन, संस्थापक राष्ट्रिय आविष्कार केन्द्र

नेपाली प्रतिभा स्वदेशमै परिचालन गरी उनीहरूको सिप, क्षमता र दक्षताबाट देशमा नयाँ प्रविधि आविष्कार गर्न केन्द्रको सहयोगमा विभिन्न काम भइरहेका छन्। ‘नेपालको ग्रामीण सडक लक्षित गरी हामीले कार डिजाइन गरिरहेका छौं’, पुनले भने, ‘अहिलेका सबै गाडी कच्ची सडकमा गुड्न सक्दैनन्, त्यसैले त्यस्ता सडकमा गुड्न सक्ने कारको डिजाइन हुँदैछ।’

केन्द्रकै सहयोगमा अहिले किटाणुरहित पानी शुद्धीकरण गर्ने फिल्टर निर्माण, अनलाइन सपिङ, हेटौंडामा ई–रिक्साको ब्याट्रीको क्षमता बढाउने काम सञ्चालनमा छन्। काठमाडौं विश्वविद्यालयको केमिकल इन्जिनियरिङ विभागका विद्यार्थीहरूले सोलारबाट पानी तताउने क्षमता वृद्धिबारे अनुसन्धान गरिरहेका छन् भने कृषि तथा वन विश्वविद्यालय चितवनका विद्यार्थीहरूले फोहोरमा ठूलो झिंगा पालेर त्यसबाट कम्पोस्ट मल बनाउने परीक्षण गरिरहेका छन्।

एक साताअघि चितवनबाट फर्किएका पुनले भने, ‘फोहोरमा ठूलो झिंगा पालेर त्यसको लार्भाबाट माछा र कुखुराको आहारा बनाउन सकिन्छ। यो अरु देशमा निकै चलनचल्तीमा रहे पनि हामीकहाँ थिएन। अहिले कृषिका विद्यार्थीहरूले काम सुरु गरेका छन्।’ देशभित्रै रोजगारी सिर्जना गर्न आविष्कार केन्द्रको स्थापना गरिएको उनले बताए। केन्द्रले विज्ञान र प्रविधि क्षेत्रमा खोज र अनुसन्धान गर्न चाहनेलाई आर्थिक तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

करिब ८ महिना अघिदेखि यस्ता खोज, अनुसन्धान र प्रविधि विकास गर्न थालेको केन्द्रमा अहिले आधा दर्जनभन्दा बढी खोज÷अनुसन्धान भइरहेका छन्। ‘आइडिया ल्याऊ, पैसाको जिम्मा मेरो, जे जति सहयोग चाहिन्छ गर्छैाँ भनेका छौं’, पुनले भने, ‘ठूलो लगानीमा काम गर्न नसकिए पनि थोरै आर्थिक सहयोगमा हुने काममा हामीले सहयोग गरेका छौं। हामीले यसलाई चुनौतीका रूपमा लिएका छौं।’

भाडाको घरमा काम गरिरहेको केन्द्रले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रिकास्टसँग सहकार्य गरी काम अघि बढाएको छ। केन्द्रको सहयोगमा त्रिवि प्रांगणमा भइरहेको प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ। प्रयोगशाला तयार भएपछि अनुसन्धान गर्न सहज हुने पुनको विश्वास छ। ‘अहिले हामीसँग आफ्नो ल्याब छैन, अरुको ल्याबमा काम गर्नुपर्छ। आफ्नै ल्याब निर्माण भएपछि अझै धेरै काम गर्न सकिन्छ’, उनले भने। annapurnapost.com