आफ्नो जन्मदिन मनाउन महंगो खर्च गरिन्छ । जन्मदिन मनाउने नाममा भोजभतेर, केक काट्ने प्रचलन बढ्दै गरेको अवस्थामा कतारमा रहेका एक यूवाले आफ्नो जन्मदिनमा अनावश्यक खर्च न गरी परिवारकै अभिभावक बनेका एक बालकको शिक्षादिक्षामा आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका–५ डडुवा घर भई हाल रोजगारको सिलसिलामा कतारमा रहेका गोविन्द पौडेलले मालिका गाउँपालिका–५ देविस्थानका मनोज विकलाई शैक्षिक साम्रागी खरिद गर्ने गरी ५ हजार आर्थिक सहयोग गरेका हुन् ।

‘आठ बर्षको उमेरमा अभिभावकै जिम्मेबारी सम्हालेको खवर सुनेर दुखी भएको थिए,‘धर्तीमा पाइला टेकेको दिन अर्थात जन्मदिनकै अवसरमा सहयोग गरेको छु’ पौडेलले भने । उनले धर्तीमा पाइला टेकेको दिनमा समाजलाई सन्देश पुग्ने कार्यहरुमा सहभागि हुन पाउदाँ खुसी लागेको बताए । गाउँकै विपन्न विकको समस्याका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि स्वदेश तथा विदेशबाट सहयोगको प्रतिबद्धता आइरहेको छ ।

मनोजका पिताको करिव ३ बर्ष अगाडी तत्कालिन बिम गाविस हाल (मालिका–७ बिम)मा खच्चडबाट सामान ढुवानी गर्दा लडेर मृत्यु भएपछि अपाङ्ग आमा गोरी विक र ४ बर्षिकी बहिनी मनिषालाई रेखदेख गर्ने गरेका छन् । आर्थिक अभावलाई टार्न आफन्त, गाउँघरमा चन्दा संकलन गर्ने गरेका मनोजकी आमा नशा रोगबाट ग्रसित छिन् । परिवारको जिम्मेबारीका कारण मनोजले शैक्षिक गतिविधिमा प्रयाप्त समय दिन पाएका छैनन् । विकलाई मलेसियामा रहेका बेनपा २ अर्जमका आशिष परियार, देविस्थानको शूर्यमुखी यूथक्लव घरथोकले सहयोग अभियान सञ्चालन गरेको छ ।