साउन महिनाको दोस्रो सोमबार म्याग्दीको गलेश्वर मन्दिरमा शिवको दर्शन गर्नेको घुँईचो लागेको छ। बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा जिल्लाका विभिन्न स्थानका साथै पर्वत, बागलुङ, कास्की लगाएतका जिल्लाबाट दर्शका लागि भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । ‘पहिलो सोमबारको तुलनामा भक्तजनको भीड लागेको छ,‘अनुकुल मौषम र खेतीपातिको चटारो सकिएकाले पनि भिड बढेको हो‘ उनले भने ।

दोस्रो सोमबार विभिन्न जिल्लाबाट बोलबम र कृतन समुह समेत गलेश्वरमा आएका थिए । गलेश्वरमा दर्शन गर्न जाने भक्तजनलाई सहज वातावरण बनाउने बसपार्कबाट भित्र सवारीसाधन प्रवेशमा रोक लगाएकाले पनि दर्शनार्थीलाई मन्दिरमा दर्शनमा सहज भएको थियो । गलेश्वर बजारमा प्रवेशद्धार देखी भित्र स्वयमसेवक, प्रहरी, सामुदायिक संघसंस्था लगाएतको उपस्थितीले समेत भक्तजनलाई दर्शनमा कुनै सास्ती देखिएको थिएन् ।

विहानै देखी भिड रहेको मन्दिरमा कालिगण्डकी नदीमा स्नान गरेर भक्तजनहरु मन्दिरमा विभिन्न स्थानमा पुगेर पुजाआजा संगै मुल मन्दिरमा पुजा गरी फर्कर्ने गरी स्वयमसेवक परिचालन गरिएको थियो । साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अबिवाहितहरु सुयोग्य बरको कामना गर्दै चोखो निष्ठ गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्छन् ।

कालिगण्डकीको किनारमा चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजाले भक्तजनको मनोकामना पुुरा हुने पन्डित भिमनाथ पराजुलीले बताए । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्ति क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ । साउने सोमबार प्रशिद्ध धार्मिकस्थल गलेश्वरका साथै अन्य धार्मिक क्षेत्रमा दर्शन गर्न जाने भक्तजनले महिला तथा युवतीले हरियो चुरा सहितको पहिरनमा जाने गर्दछन् ।

मन्दिरमा संकलन भएको भेट्टीले पुर्वाधार थपका साथै जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकलाई भोजनको ब्यवस्था सहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।