दोस्रो सोमबार गलेश्वर मन्दिरमा ३ लाख बढी भेटी सङ्कलन

0
352

जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबारमा तीनलाख रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा जिल्लाका साथै देशभरका विभिन्न जिल्लाबाट आएका भक्तजनले मन्दिरमा ३ लाख सात हजार ५८२ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बेनीअनलाइनलाई बताए । साउन महिना बाहेक महिनाको दुईपटक कोष, प्रहरी, आमा समुह, कर्मचारीको उपस्थितीमा भेटी गन्ने गरिएको छ ।

शिवको पवित्र बारको रुपमा चिनिने साउने सोमबारमा दर्शन गर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, तनहुँ, चितवन, नवरपरासी लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार साउन महिनामा करिव १२ लाखको हाराहारीमा भेटी संकलन हुने अनुमान गरिएको छ । भेटी दुरुपयोग हुन नदिन आवश्यक स्थानमा सिसी क्यामेरा समेत जडान गरिएको छ । पहिलो सोमबार दुई लाख ८८ हजार २७१ रुपैयाँ संकलन भएको थियो।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । यसैबीच सदरमुकाम बेनीमै रहेको ४०० वर्ष पुरानो प्राचिन ऐतिहाँसीक धार्मीक तिर्थस्थल बेनी शिवालय मन्दिरमा रहेको १०८ शिवलिङ्गमामा समेत भक्तजनको घुईचो लागेको छ ।