बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध

0

बेनी–जोमसोम सडकखण्ड अन्तरगत विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरीमा बुधबार राती खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडकमाथिबाट निरन्तर खसेको पहिरो पन्छाउने प्रयास भइरहेको छ । सडकखण्ड अन्र्तरगत अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानीको गुईठेमा समान्य पहिरोले आवतजावतमा समस्या भएको यातायात ब्यवसायीले बताएका छन् ।

पहिरोले सडक अवरुद्ध हुदाँ यात्रु समस्यामा परेका छन् । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण बेनी–जोमसोम सडकखण्ड अन्तरगत विभिन्न स्थनमा खसेको पहिरोले समस्या भएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकर प्रयोग गरिएका स्थानमा ढुंगा खस्दा यात्रामा समस्या भएपनि तत्काल पन्छाइएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

हिलाम्मे सडक, सडक माथिको भीरबाट खस्ने ढुंगा र पहिरोले यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्ने गरेका छन् । दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार सडकखण्ड अन्र्तरगत बुधबार बैसरीको आसपासमा खसेको पहिरोले समस्या भएपनि बेगखोला, भुरुङ, दाना क्षेत्रमा रहेका साना अवरोधलाई पन्छाइएको बताए ।

बैसरीको पहिरो पन्छाउन बिहिबार बिहानै देखी प्रयास भएपनि सफल हुन नसकेको प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढामगरले बताए । उनले निर्माण ब्यवसायीसंग सहकार्य गरिएको बताए । सडक अवरुद्ध हुदाँ बैकल्पिक मार्गबाट यात्रा गर्न बाध्य छन् । सडकखण्ड अन्र्तरगत म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाले समेत सडकलाई नियमित सञ्चालन गर्न आवश्यक समन्वय गरेको छ । ७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक बजेटको अभाव तथा छियाछियाा भएको सडकको मर्मतमा ठुलो लागत लाग्ने प्राविधिकको भनाई छ ।