बेनी अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउने बढे

0

बेनी अस्पतालमा शल्यक्रियाको माध्यम मार्फत बच्चा जन्माउनेको संख्या बढेको छ । अनुभवी चिकित्सक,उपकरणको उपलब्ध संगै आधादशक अगाडी विस्तार गरिएको शल्यक्रिया सहितको प्रसुती सेवाबाट गत आव ०७४÷०७५ मा ७४ जनाले सेवा लिएका छन् । गर्भवती महिला समान्य तरिकाले बच्चा जन्माउन नसकेको अवस्थामा महिला र नबजात शिशु दुवैको सुरक्षालाई मध्यनजर गरी शल्यक्रिया सेवा दिइएको अस्पतालले जनाएको छ ।

गत आवमा अस्पताल विकास समितिको गतिविधि तथा स्वास्थ्य सेवाका बारेमा जानकारी गराउँदै अस्तालका प्रमुख डा. रोशन न्यौपानेले समान्य बाहेक असामान्य अवस्थामा भर्ना भएका गर्भवती महिलाको पेटमा बच्चा ठूलो,उल्टो बसेको अवस्थामा योजनाबद्ध र प्रसव ब्यथा लागिसकेपछि बच्चामा गम्भीर समस्या देखिएमा गरिने आकस्मिक शल्यक्रियाबाट महिला र बच्चा दुवैको ज्यान सुरक्षित गर्न सफल भएको बताउनुभयो ।

उहाँका अनुसार सिजरियन सेक्सन(सिएस) सेवाबाट आर्थिक अवस्था कमजोर भएकालाई जिल्ला बाहिर निजी अस्पतालमा लाग्ने शुल्क र समयको बचत भएको बताउनुभयो । शल्यक्रियाबाट एकपटक शिशु गुमाएर दोस्रोपटक शल्यक्रिया गरेका महिलालाई तेस्रो बच्चा समान्य तरिकाबाट योनीमार्गबाटै जन्मिएको बताउँदै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको बताउनुभयो । एकबर्षमा अस्पतालमा मात्रै ८ सय ८९ ले प्रसुती सेवा लिएका छन् ।

अस्पतालमा हाईड्रोसिल, हर्निया,पाठेघर बाहिर आन्द्रामा बच्चा बसेको, योनीभित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाईते,पिसावको थैलोमा भएका ढुङ्गा, पाठेघर, अण्डकोष तल नझरेको, एपेन्डिस, हड्डी, नसा चुडिएका विरामीको उपचार गरिएको छ । ५० शैयाको अस्पतालमा स्तरोन्नति संगै पुराना संरचना धमाधम भत्काउन थालेपछि अस्थायी संरचनाबाट सेवा उपलब्ध गराइरहेको अवस्थाले ओपिडि मार्फत ३ हजार ३ सय ३०, आकस्मिक कक्षबाट ६ हजार ६ सय ३८, भर्ना भएर डिस्र्चाज ३ हजार १३५ जना, ल्याव सेवा ९ हजार ५ सय ६५, एक्सरे सेवा ५ हजार २ सय २ जना, जटिल र समान्य अप्रेसन ६ हजार ३१ जना रहेका छन् ।

अस्पताल विकास समितिको आम्दानी ४ करोड २६ लाख

सेवा प्रवाहसंगै न्यूनतम शुल्क लिने गरिएकोमा गत आवमा अस्पतालमा विभिन्न शिर्षकमा ४ करोड २६ लाख ८९ हजार ९३६ रुपैयाँ आम्दानीबाट खर्च कटाएर कुल १ करोड ५३ लाख बचत भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । अघिल्लो आवमा मुल समितिको आम्दानी ८४ लाख ८२ हजार २३४ रुपैयाँ सहित विभिन्न कोषमा रहेको रकम सहित कुल १ करोड २१ लाख ९३ हजार ७२५ रहेको थियो ।

गत आवमा विभिन्न कोष सहित ४ करोड ९३ लाख ४ हजार ९१ रुपैयाँ आम्दानी भएको अध्यक्ष रेग्मीको भनाई छ । रेग्मीका अनुसार २ करोड ८४ लाख १५ हजार ८ सय ३४ रुपैयाँ खर्च भएको थियो । विकास समितिद्धार सञ्चालित ल्याबबाट ४० लाख, स्वास्थ्य विमा सेवा ४० लाख, एक्सरे सेवा २० लाख, प्रसुती सेवा २० लाख, भिडियो एक्सरे १४ लाख लगाएत विभिन्न शिर्षकमा आम्दानी भएको बताउनुभयो ।