बहुउद्देश्यीय मैदानमा सवारीसाधन सिकाउन रोक

0

सदरमुकाम बेनीमा सवारी चलाउन सिक्दै गरेकी एक महिला छोरासंगै म्याग्दी खोलामा बेपत्ता भएपछि बेनी नगरपालिका–७ खुल्लामञ्च नजिक रहेको बहुउद्देश्यीय मैदानमा सवारी सिकाउन रोक लगाइएको छ । एकदशक अगाडी देखी बेनीबजारमा रहेका डाईभिङ्ग इस्टिच्युटले सवारीसाधन सिकाउने स्थानको रुपमा प्रयोग गदै आइरहेको मैदानमा पर्खाल नभएकाले भविस्यमा पनि दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनीअनलाइनलाई बताए ।

‘विगतमा पनि छिटफुट घटना भएको सुनियो,‘बर्खाको बेला झन जोखिम भएकाले भरपर्दो सुरक्षाको ग्यारेन्टी नहुदाँ सम्म रोक लगाइएको छ’ प्रजिअ अधिकारीले भने । उनले बहुउद्देश्यीय मैदानको म्याग्दी नदी तर्फ पर्खाको आवश्यकता रहेको बताउँदै बेनी नगरपालिकाबाट पूर्वाधार सहितको ब्यवस्था भएमा छलफल गर्न सकिने बताए ।

शुक्रबार बसेको सुरक्षा समितिको बैठकले ट्याक्सी संगै बेपत्ता भएका मंगला गाउँपालिका–२ बावियाचौर स्थायी घरभई हाल पर्वतको जलजला गाउँपालिका–२ बैर बस्ने मा बस्ने ३० बर्षिया शोभा अधिकारी, उनका छोराको खोजीकार्यका लागि कालिगण्डकीको तटिय क्षेत्रमा म्याग्दी, पर्वतका सुरक्षाकर्मीको टोलीले शनिबार समेत खोजीकार्यलाई जारी राख्ने प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बताए ।

बैठकले बेनीमा रहेका डाईभिङ्ग इस्टिच्युटलाई बर्खाको समयमा खोलानदी आसपासका क्षेत्रमा,भिरालो तथा जोखिमपूर्ण क्षेत्रमा सिकाउने कार्यमा सचेत हुन अनुरोध गरेको छ । बहुउद्देश्यीय मैदान जिल्ला प्रहरी कार्यालयसँगै रहेको छ। म्याग्दी नदी माथि तटबन्ध गरेर २०६१-६२ मा बहुउद्देश्यीय मैदान बनाइएको थियो।

तत्कालिन समयमा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद श्रेष्ठको प्रयासमा बनाइएको मैदानलाई बहुउद्देश्यीय कार्यका लागि प्रयोग गर्ने प्रयास गरिएपनि सरोकारवाला निकायबाट असहयोग हुदाँ अलपत्र परेको थियो । केहीबर्ष कृषि हाटबजारको रुपमा प्रयोग गरिएको भएपनि अहिले हाटबजार समेत बन्द अवस्थामा रहेको छ भने जिल्लामा भित्रिने सवारीसाधन तथा बस तथा जीपको काउन्टर राख्ने प्रयास समेत असफल भएको छ । मैदानमा डाईभिङ्ग इस्टिच्युटले विना कर दुई र चार पाङ्ग्रे सवारीासधन सिकाउने गरेका छन् ।