प्यारालाइसिस रोगबाट ग्रसित एक महिलालाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नामका स्थानीय यूवाले अपाङ्ग एवम् प्यारालाइसिस रोगबाट थलिएकी दर्मिजाकी ५१ बर्षिया तिलमती गर्बुजालाई ३७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

आँखा धमिलो, हातखुट्टा लुलो भई पक्षघाट भएपनि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी गर्बुजा दिदीको घरमा बस्दै आएकी थिईन् । गर्बुजाको दिदीको समेत आर्थिक अवस्था कमजोर भएका कारण दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सक्रियतामा सुरु भएको आर्थिक संकलन अभियान अन्र्तरगत संकलित रकम हस्तान्तरण मोहन तिलिजाले बेनीअनलाइनलाई बताए ।

‘उहाँको उपचार सम्भव भएन,‘दुईछाक मिठो खानाका लागि सहयोग गरेका छौ’ उनले भने ।अभियानमा दग्नाम बैदेशिक सहयोग समिति बहराइन १८ हजार ५ सय, हमित गर्बुजा कोरिया ५ हजार, सुशिल गर्बुजा, जापान ५ हजार, अमृत, जितेन र सन्तोष पाईजा मलेसिया ७ हजार र धनिलाल गर्बुजा २ हजार सहयोग गरेका थिए ।

सहयोग रकम आइतबार एक कार्यक्रम गरी वडा अध्यक्ष एक बहादुर गर्बुजाले हस्तान्तण गरेका छन् ।सहयोग हस्तान्तरण कार्यक्रममा विना गर्बुजा, धन बहादुर गर्बुजा, एकता यूवा क्लव दग्नामका सचिव कृष्ण गर्बुजा, समाजसेवी धनिलाल गर्बुजा,शिव आधारभुत विद्यालयका शिक्षक धनु पुन लगाएतको उपस्थिती रहेको थियो ।