बेनी खानेपानीले स्मार्ट वाटर प्रोजेक्ट लागु

0

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले करिव २१ करोडको लागतमा स्मार्ट वाटर प्रोजेक्ट लागु गर्ने भएको छ। आइतबार सदरमुकाम बेनीमा आयोजित बेनी नगरपालिका, बेनी खानेपानी उपभोक्ता संस्थाले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा दक्षिण कोरियाका इन्यु नेशनल युनिभर्सिटीको टोलीलाई स्वागत गदैं प्रोजेक्टलाई सम्झौता अनुसार समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा युनिभर्सिटीको टोलीका प्रमुख प्रोफेसर डाक्टर चो.यी.ले बेनी खानेपानी उपभोक्तासँगको सहकार्यमा पाइलट प्रोजेक्टका रुपमा स्मार्ट वाटर प्रोजेक्ट सञ्चालन गर्न लागिएको बताए । पाइलट प्रोजेक्टलाई नमुना बनाउन आवश्यक सबै शक्ती प्रयोग गर्ने बताए ।‘यो एउटा सुन्दर अवसर हो,‘हामीले बेनीलाई स्मार्ट वाटर प्रोजेक्टको नमुना बनाउन चाहन्छौ’ उनले भने ।

स्मार्ट वाटर टेक्नोलोजीले बाढीपहिरोका कारण पाइप फुटे वा अन्य संरचनामा क्षती पुगेमा इन्टरनेट र मोबाइलबाट सहजै जानकारी पाईने बताउँदै स्मार्ट टेक्नोलोजीको प्रयोगबाट खानेपानी वितरण गरिने बताए । ७ जना कोरियन टोलीको नेतृत्व गरी बेनी आएका चो.यी.ले खानेपानीको मुहानमै पुगेर स्थलगत अवलोकन गर्ने अवसर मिलेको बताए । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरबासीलाई २४ घण्टा शुद्ध खानेपानी वितरण गर्ने कार्यलाई थप स्तरउन्नतीको प्रयासबाट उत्साहित भएको बताए ।

उनले प्रोजेक्टको तयारी तथा छलफलमा समेत नगरपालिकाबाट प्राथमिकताका साथ सहभागिता तथा सहयोग गरिएको बताउँदै नगरबासीको समस्या समाधान हुने बताए । एकदशक अगाडी देखी नगरबासीलाई शुद्ध खानेपानी वितरणमा सक्रिय रहेको उपभोक्ता समितिका अध्यक्ष सुवाश कुमार श्रेष्ठले स्मार्ट वाटर प्रोजेक्टले वर्तमान आवश्यकता र समस्यालाई समाधान गर्ने बताए ।

उनले स्मार्ट वाटर प्रोजेक्टका बारेमा उपभोक्तालाई समेत जानकारी गराउने बताउँदै प्रोजक्ट सम्पन्न भएमा स्विच भल्भ र गेट भल्व कम्प्युटरबाट नियन्त्रण हुने, मिटर रिडीङमा आधुनिक उपकरणको प्रयोग हुने,पाईपलाईन तथा भौतिक संरचनाहरुमा रेट्रो फिटिङ गरिने, कम्प्युटरबाट उपभोक्ताको मिटरका बारेमा जानकारी लिइने, प्रयोगशालालाई व्यवस्थित र स्तरोन्नति लगाएत समस्यालाई सहजै समाधान गरिने बताए ।

कार्यक्रममा एसओएस बालग्राम पोखराका भाइस प्रिन्सिपल किरण सापकोटाले बेनी नगरपालिकाको समग्र क्षेत्रको वस्तुस्थिति, धार्मिक तथा पर्यटकीयस्थल, खानेपानीको अवस्थाका विषयमा सहजीकरण गरेका थिए । यसैबीच स्मार्ट वाटर प्रोजेक्टको कोरियालीको टिमले अन्नपूर्ण गाउँपालिका–८, राम्चेस्थित रहेको पुम्दीखोलाको मुहानमा पुगेर खानेपानीको मुहान, पाइपलाइन र बराहपाखोस्थित आरभिटी, धाराको स्थलगत अनुगमन गरेको जनाएको छ ।

बेनी नगरपालिकाका प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले आ–आफ्नो धारणा राखेका थिए । बेनी खानेपानी उपभोक्ता संस्थाका सचिव रमेश गिरीको सञ्चालन रहेको कार्यक्रममा प्रोफेसर डा. इन्दिरा पराजुलीले दोभाषेको सहजीकरण गरेकी थिइन् ।

प्रति सेकेण्ड ३० लिटर पानी झर्ने पुम्दीखोला योजनाको ३ ओटा इन्टेक, चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन् । बेनपा– २ ज्यामरुककोटको हाँडेभीर, बेनीबजार र गलेश्वरका ९६५ घरधुरीका उपभोक्तालाई खानेपानी सुबिधा प्रदान गरिरहेको संस्थाले गत आवमा छ करोड पन्ध्र लाख २७५ रुपैयाको लागतमा स्तरवृद्धी गरी चौबिसै घण्टा खानेपानी वितरण गरिरहेको छ ।