म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । यसवर्ष साउन महिनाको तेस्रो सोमबार पनि म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट आएका करिब २५ हजार भक्तजनहरुले शिवालय मन्दिरमा पुजाआजा गरेका छन् ।

गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । तेस्रो सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र नवलपरासीबाट भक्तजनहरु आएर पूजाअर्चना र दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर क्षेत्र विकास कोषले सहज पुजाआजाको व्यवस्थापन मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

भक्तजनहरुले अबिर, धजा, फुलप्रसाद चढाएका छन्भने उनीहरुले धुपबत्ती बाल्नुका साथै नरिवल फुटाएर पुजा गरेका थिए । पुजा व्यवस्थापनमा नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा, कालीगण्डकी तथा गलेश्वर आमा समूह, म्याग्दी बहमुखी क्यामपस, न्यु वेष्ट प्वोइन्ट, माउण्ट मगर विद्यार्थी संघ, गलेश्वर आदर्श बोर्डिङ स्कुल, नवीन आनन्द योग शिविर बेनी र शाखा गलेश्वर तथा गलेश्वर युवा क्लबले स्वयंसेवा गरेका थिए ।

साउन महिना र सोमबारलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मानिने हुँदा शिवालयमा पुजाआजा गरेमा मनोकामना पुरा हुने गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिलाहरु आफ्नो श्रीमान्को दिर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् ।

सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा रहेको छ । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।