जिल्लाको सदरमुकाम बेनी आसपासका क्षेत्रमा वितरण भइरहेको खानेपानी आयोजनामा  स्मार्ट वाटर प्रोजेक्टको सोमबार संस्थागत सम्झौता(मेरोरेन्डम अफ अन्डरस्ट्यान्डिङ)मा हस्ताक्षर भएको छ । आधुनिक उपकरणको प्रयोग गरी खानेपानी आपूर्तीलाई प्रभावकारी बनाउने स्र्माट वाटर प्रोजेक्टका विषयमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र दक्षिण कोरियाका इन्यु नेशनल युनिभर्सिटीका प्रमुख प्रोफेसर डाक्टर चो.यी.ले आगामी तीनबर्ष भित्र बेनी खानेपानीले वितरण गरिरहेको खानेपानीमा स्मार्ट प्रविधिको जडान गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो ।

दक्षिण कोरियाबाट प्रोफेसर डाक्टर चो.यी.ले को नेतृत्वमा आएको ७ सदस्यीय टोलीले तीनदिनसम्म बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मुहान देखी उपभोक्ताको धारासम्मको संरचनाको स्थलगत अवलोकन तथा छलफल कार्यक्रममा सहभागिता जनाएका थिए ।

बेनी नगरपालिकामा आयोजित कार्यक्रममा कोरियन टोलीले समुदायको सक्रियतामा सञ्चालित खानेपानीको वितरण प्रणालीबाट उत्साहित भएको बताए ।सम्झौतापत्रमा हस्ताक्षर गदैं नगरपालिका मेयर श्रेष्ठले कोरियाली संग खानेपानी सहित विकास निर्माणका क्षेत्रमा काम गर्न नगरपालिका इच्छुक रहेको बताए ।

उनले बेनी नगरपालिका धार्मिक, पर्यटनमा समेत प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँका बारेमा प्रचारप्रसारमा समेत सहकार्य गरिने बताए । परियोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको बताए । सोही अवसरमा सम्झौतामा स्मार्ट वाटर प्रोजेक्टको कामलाई सुरु गरिने बताइएको छ । प्रारम्भीक लागत २१ करोड अनुमान गरिएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

उनले स्मार्ट वाटर प्रोजेक्टका बारेमा उपभोक्तालाई समेत जानकारी गराउने बताउँदै प्रोजक्ट सम्पन्न भएमा स्विच भल्भ र गेट भल्व कम्प्युटरबाट नियन्त्रण हुने, मिटर रिडीङमा आधुनिक उपकरणको प्रयोग हुने,पाईपलाईन तथा भौतिक संरचनाहरुमा रेट्रो फिटिङ गरिने, कम्प्युटरबाट उपभोक्ताको मिटरका बारेमा जानकारी लिइने, प्रयोगशालालाई व्यवस्थित र स्तरोन्नति लगाएत समस्यालाई सहजै समाधान गरिने बताए ।उनले सम्झौता पत्रमा हस्ताक्षर संगै पहिलो चरणमा बेनपा–७ र ८ नम्बर वडाबाट काम गरिने बताए । उनले सोही अवसरमा वडा नं २ ज्यामरुककोटको हाँडेभिर समेत नजिक रहेकाले त्यहाँका १५ घरधुरीलाई समेत समेटेर काम गरिने बताए ।

टोलीलाई भब्य सम्मान सहित विदाई गरिएको थियो । स्मार्ट वाटर प्रोजेक्टको कोरियालीको टिमले अन्नपूर्ण गाउँपालिका–८, राम्चेस्थित रहेको पुम्दीखोलाको मुहानमा पुगेर खानेपानीको मुहान, पाइपलाइन र बराहपाखोस्थित आरभिटी, धाराको स्थलगत अनुगमनका क्रममा भेटिएका समस्याका बारेमा समेत छलफल भएको थियो ।  बेनपा– २ ज्यामरुककोटको हाँडेभीर, बेनीबजार र गलेश्वरका ९६५ घरधुरीका उपभोक्तालाई खानेपानी सुबिधा प्रदान गरिरहेको संस्थाले गत आवमा छ करोड पन्ध्र लाख २७५ रुपैयाको लागतमा स्तरवृद्धी गरी चौबिसै घण्टा खानेपानी वितरण गरिरहेको छ ।