गलेश्वर मन्दिरमा तेस्रो सोमबारसम्म ९ लाखभन्दा बढी भेटी

जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो सोमबार सम्म ९ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा तीन वटा सोमबार सम्म ९ लाख १९ हजार ७ सय ६१ रुपैयाँ भेटी सङ्कलन भएको हो । जिल्लाका साथै देशभरका विभिन्न जिल्लाबाट आएका भक्तजनले तेस्रो सोमबार ३लाख २३ हजार ९०८ रुपैयाँ चढाएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए ।

‘अन्तिम सोमबार भक्तजनको निकै चाप बढ्ने छ,‘तराईका जिल्लाबाट समेत दर्शनमा लागी भक्तजन आएका थिए’ रेग्मीले भने । सोमबार भक्तजनले चढाएको भेटी गन्न करिव ५ घण्टा लागेको उनले बताए । साउन महिना बाहेक महिनाको दुईपटक कोष, प्रहरी, आमा समुह, कर्मचारीको उपस्थितीमा भेटी गन्ने गरिएको छ । कोषका कोषाध्यक्ष बम बहादुर पुनका अनुसार पहिलो सोमबार २ लाख ८८ ह जार २७१ र दोस्रो सोमबार ३ लाख ७ हजार ५८२ रुपैयाँ संकलन भएको थियो।

क्षेत्र विकास कोषले साउन महिनाको चारवटा सोमबारमा करिव १५ लाख भेटी संकलन हुने अनुमान गरेको थियो । बर्षा र सडक अवरुद्ध भएपनि भक्तजनहरु गाउँगाउँबाट पैदल तथा बोलबमको टोलीको समेत आगमनले तेस्रो सोमबार अत्याधिक चाप रहेको थियो । भक्तजनहरुले कालिगण्डकी नदीमा स्नान गरी जल लिएर मन्दिरमा जल र दूध चढाएर पूजा गरेका थिए ।

साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारको सदस्यको दिर्घायू र सुख शान्ति मिल्नृ धार्मिक विश्वासले समेत बालबालिका देखी बृद्धबृद्धाको घुईचो लाग्ने गरेको छ ।सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्ति क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ ।मन्दिरमा संकलन भएको भेट्टीले पुर्वाधार थपका साथै जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकलाई भोजनको ब्यवस्था सहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । यसैबीच सदरमुकाम बेनीमै रहेको ४०० वर्ष पुरानो प्राचिन ऐतिहाँसीक धार्मीक तिर्थस्थल बेनी शिवालय मन्दिरमा रहेको १०८ शिवलिङ्गमामा समेत भक्तजनको घुईचो लागेको छ ।