म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले रानीपौवाकी एक बालिका तीन महिना देखी बेपत्ता भएकी छन् । रानीपौवाका बिर बहादुर विश्वकर्मा र थममाया विश्वकर्माकी १४ बर्षीय छोरी रोजिना विश्वकर्मा बेपत्ता भएकी हुन् । गत जेठ महिनाको ३ गते ‘घरबाट स्कुल जान्छु’ भनेर बिहान ९ बजे निस्केकी छोरी अहिले सम्म घर नआएको परिवारले जनाएको छ । ‘बिहान खाना खाएर आज स्कुल छिटो जानु भनेर घरबाट निस्किएकी छोरीको अझै पत्ता लाग्न सकेको छैन’ बालिकाकी आमा थममायाँले भनिन् ।

उनले हराएको बेलुकीबाट खोजीकार्य गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराएको बताईन् । ‘पहिले पनि आफन्तलाई भटेर एकदुई दिनमा फर्किने गरेकी थिई,‘महिनादिन बित्दा पनि कुनै अत्तोपत्तो छैन’ उनले भनिन् । बेपत्ता बालिकाकाका परिवारले जहाँ जाँदा पनि घरमा जानकारी गराएर जाने गरेको बताउँदै कसैले प्रलोभनमा फसेको हुनसक्ने भन्दै खोजीकार्यमा सहयोगको अपिल गरेका छन् । पाँच भाईबहिनी मध्ये रोजिना कान्छी हुन् ।

गत असार २ गते गलेश्वरमा एकजना महिलासंग रहेको जानकारी पाएपछि खोजीकार्यमा आएपनि फेला नपरेका रोजिनाका दाजु मिलन विकले बताए । उनले एकजना दिदीलाई अव पोखरा जाने तयारीमा छु भनेको जानकारी समत पाएको बताए । बेपत्ता बालिकाको खोजीकार्यका लागि पोखरामा रहेका म्याग्देलीलाई समेत अनुरोध गरिएको छ । जिल्लामा बालबालिका परिवारबाट सम्र्पकविहिन हुने क्रम बढ्दौ छ । विद्यालय उमेर समुहमै घरबाट बेपत्ता हुने गरेका बालबालिकाको खोजीकार्यमा प्रहरीलाई समेत हम्मेहम्मे पर्ने गरेको छ ।