जन्मदिनको अवसरमा सामुदायिक बनमा फूल रोपण (भिडियो)

0
227

आफ्नो जन्मदिन मनाउन महंगो खर्च गरिन्छ । जन्मदिन मनाउने नाममा भोज–भतेर,केक काट्ने प्रचलन बढ्दै गरेको अवस्थामा एक ब्यक्तिले जन्मदिनको अवसरमा सामुदायिक बनमा फुल लगाएका छन् । बेनी नगरपालिका–७ विरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दल प्रसाद श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बराहपाखो सामुदायिक बनमा फूलहरु लगाएका हुन् ।

बेनी–महारानीथान–अर्थुङ्गे सडकखण्ड अन्र्तरगत बेनी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नजिक बुधबार एक कार्यक्रम गरी विभिन्न प्रजातिका ७१ थरिका फूलहरू लगाउँदै ७१ औं जन्मदिन मनाएका छन् ।

घरायसी काम भन्दा टोलका गतिविधिमा सक्रिय हुने श्रेष्ठले फूल खेतीलाई नियमित रेखदेख गर्ने प्रतिबद्धता जनाए ।‘आज मैले नयाँ काम गर्ने अवसर पाएको छु,‘उमेरले बुढो भएपनि मैले समाजमा अझै नयाँ काम गर्ने योजना बनाएको छु’ श्रेष्ठले भने ।

उनले टोलसुधार समितिले बृक्षारोपणको अभियानलाई तिब्रता दिएको बताउँदै सोही अभियानमा सहयोग पुग्ने गरी फूलको बिरुवा लगाएको बताए ।‘टोलबासीले पनि मेरो अभियानमा साथ दिनुभएको छ,‘ब्यक्तिगत रुपमा थप फूल लगाउने छु’ उनले भने ।कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जन्मदिनको अवसरमा सामुदायिक बनमा फूलका विरुवा रोपण गर्नु सन्देशमुलक काम भएको बताए ।

‘टोलबासीले नियमित सरसफाई सहितका अभियान सञ्चालन गर्नुभएको छ,‘नगरलाई सुन्दर र नमुना बनाउन यस्ता गतिविधिले बल पुग्छ’ श्रेष्ठले भने ।कार्यक्रममा पूर्व सांसद रेशम बहादुर बानियाँ, बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ, बराहपाखो सामुदायिक बनका अध्यक्ष कुलप्रसाद श्रेष्ठ, विरेन्द्रचोक टोलबासीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा श्रेष्ठको नेतृत्वमा विरेन्द्रचोक टोलसुधार समितिले नियमित सरसफाई, बृक्षारोपण, सार्वजिक खानेपानी लगाएत नगरपालिका भित्रका वडामा रहेका टोलसुधार समितिमै नमुना र सन्देशमुलक कार्य गरेको भन्दै प्रशंसा गरिएको थियो । कार्यक्रमको सञ्चालन टोल सुधार समितिका सचिव लालबहादुर भण्डारीले गरेका थिए ।