बेनीबजारको कला र संस्कृति झल्काउने बर्खेनाच सुरू

म्याग्दीको पुरानो कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले परम्परागत रुपमा देखाउँदै गरिएको बर्खेनाच आजबाट सुरू भएको छ ।नेपाल भाष मंकाःखलको मुल आयोजनामा हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शी देखि हिन्दु नेपाली महिलाको पर्व तीजमा समापन हुने बर्खे नाचकोे पहिलो दिन गठेमगंल पर्व मनाउने चलन रहेको छ ।

समाजलाई दुख दिने घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मकलाई भीडले बजारमा घुमाएर बध गरी कालिगण्डकी नदीमा सेलाएर पर्व मनाएको नेपाल भाषा मंकाखलको यूवा संगठन ल्याम पुचःका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

उनका अनुसार संगमचोकमा राखिएको तिनखुट्टे राक्षसको प्रतिकात्मक आकृतिलाइ नेवारी बाजा सहित बजार घुमाएर कालीगण्डकी नदीमा लगेर फालिएको थियो । घण्टाकर्णको स्थानीयबासीले अन्त्य गरेपछी पती बियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाच मार्फत प्रर्दशन गर्ने चलन रहेको छ । बेनीमा देखाइने बर्खे नाथ नेवारी समुदायको परम्परागत संस्कृति हो ।

घण्टाकर्ण पर्व र लाखे नाच प्रर्दशन संगै यसबर्ष म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सुरु भएको म्याग्दी भ्रमण बर्षलाई सघाउने उदेश्यले विगतमा समेत जनशक्तीको अभावमा नियमति देखाउन नसकिएका नाचलाई समेत देखाइने भएको छ । मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार लाखेनाच, नागानागीनी, जोगी श्रीकृष्ण भगवानको रथ यात्राका साथै घोडा नाच, गोरु, रोपाई नाच समेत देखाइने छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । बजार परिक्रमा गर्दै नाच देखाउने परम्परा छ ।

बर्खे नाच अन्तरर्गत नै गाइजात्राको दिन बर्षभरी निधन भएकाको आफन्तकहाँ पुगेर मृतकको चिरशान्तिको कामना गर्ने चलन रहेको छ । करिव २ सय बर्ष भन्दा अगाडी बेनीबजारमा बस्ती विस्तारसंगै विभिन्न जिल्लाबाट भित्रिएका नेवार जातीले कला र संस्कृतिलाई समेत भित्राएका थिए । त्यसयता निरन्तर बर्खेनाच देखाउने गरिन्छ । म्याग्दीका पुराना कला र संस्कृतिमा बर्खेनाचको समेत विषेश महत्व रहेको छ । बेनी र पर्वतबेनी आसपासका क्षेत्रबाट हेर्न आउने बर्खेनाचले बेनीबजारबासीलाई चाडपर्व सुरु भएको अनुभुति दिलाउने गरेको छ ।