दरबाङमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा इलाका प्रशासन कार्यालयको स्थापनाको पहल गरिएको छ । जिल्लाकै दोस्रो ब्यापारिक बजार समेत रहेको दरवाङलामा नागरिकता, राहदानी लगाएतका सेवालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयबाट गृहमन्त्रालयमा प्रस्ताव गरिएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा दोस्रो जिल्ला सभामा धवलागिरी, मालिकाका सबै वडा र मंगला गाउँपालिकाका केही वडाका जनतालाई सदरमुकाम बेनी आउन भौगोलिक दुर्गमताका कारण समय र लागत अत्याधिक भई सरकारी सेवा प्राप्त गर्न कठिनाई भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल भइरहेको बताइएको थियो ।

दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको सभामा जिल्ला समन्वय अधिकारी यामप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रगति विवरणमा उक्त प्रस्तावमा समेत पहल गर्न अनुरोध गरिएको छ ।इलाका प्रशासन कार्यालयको स्थापना भए पश्चिम म्याग्दीका जनतालाई प्रशासनीक सेवा लिन सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले गाउँपालिकाले प्रशासनीक केन्द्र स्थापना भए आवश्यक सहयोगका लागि तयार रहेको बताउँदै आफ्नो क्षेत्रबाट सक्दो पहल गरिएको बताए ।

सोही अवसरमा गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले समेत पश्चिम क्षेत्रका जनतालाई घरदैलोमै सेवा उपलब्ध गराउन भौगोलिक कठिनाइका कारण समस्या भइरहेको अवस्थामा प्रशासनीक केन्द्रको स्थापनाका लागि प्रदेश तथा प्रतिनिधिसभाका सदस्यलाई अनुरोध गरेकी थिइन् ।

प्रशासनीक केन्द्रको स्थापना भए मालिका, धवलागिरीका सबै वडा र मंगला गाउँपालिकाको वडा नं ५ अर्मन र २ बावियाचौरका जनतालाई सहज हुने थियो । यसैबीच म्याग्दी जिल्लामा विश्वकै सातौं अग्लो धवलागिरी सहित अन्नपूर्ण सहितका हिमश्रंखला भएपनि हिमाली जिल्ला घोषणमा आनकानी भइरहेको बताउँदै हिमाली जिल्ला घोषणा गर्न सम्बन्धि निकायलाई अनुरोध गरिएको बारेमा समेत जानकारी गराइएको थियो ।