जिसस म्याग्दीमा अझै ४ करोड ३८ लाख बेरुजु

?????????????????????????????????????????????????????????

जिल्ला समन्वय समितिमा ४ करोडभन्दा बढी बेरुजु रकम रहेको पाइएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा दोस्रो जिल्ला सभामा जिल्ला समन्वय अधिकारी यामप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रगति विवरणमा महालेखा परिक्षकको कार्यालयबाट आव ०७२÷७३ सम्मको कुल बेरुजु रकम ६ करोड ७४ लाख २९ हजार रहेकोमा २ करोड ७ लाख १० हजार सम्परीक्षण भई फछयौट भएको उल्लेख छ ।

साविकको जिल्ला विकास समितिमा विभिन्न शिर्षकमा रहेको बेरुजु रकम फछयौट गर्न हम्मेहम्मे परिरहेको अवस्थामा करिव ४ करोड ३८ लाख ९२ हजार ९ सयको हाराहारीमा बेरुजु रहेकाले फछ्यौटको प्रक्रियामा रहेको बताइएको छ । प्रतिवेदनमा कुन शिर्षकमा कति बरुजु भन्ने उल्लेख नभएपनि ठुलो रकम बरुजु देखिनुलाई साविकको जिविसको बेथितीको रुपका हेरिएको छ ।

समन्वयकारी भूमिका निर्वाह गरिरहेका जिससमा रहेका जनप्रतिनिधि सहित कर्मचारीले ताकेता गरेपनि खासै प्रगति हुन सकेको छैन् । सरकारी कार्यालयमा रहेको बेरुजु रकमलाई फछ्यौट गर्न ताकेता गरिएपनि विभिन्न शक्तीको आडमा सकस भएको गुनासो समेत गर्ने गरिएको छ । जिल्लासभाको बन्दसत्रमा समेत बरुजु रकम फट्यौटका लागी पहल गर्ने प्रतिबद्धता जनाइएको थियो । दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेशले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको भन्दै मुख्यमन्त्री गुरुङले चीनसँगको मुस्ताङ–कोरला नाका खुलाउन आफूले स्थलगत अनुमगन गरी संघीय सरकारलाई अनुरोध गरेको जानकारी दिए । उनले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरलाई प्रदेश राजधानी पोखरा र नवलपरासीको त्रिवेणी नाका जोड्ने, कोरला नाका खुलाउने र त्रिवेणी भन्सारको स्तरोन्नति गर्न प्राथमिकता दिएको पनि बताएका छन् ।

प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, पर्वतका मनाहर वि. पौडेल, पूर्व सांसदद्वय नवराज शर्मा, रेशमबहादुर बानियाँ, पूर्वसभासद गोविन्द पौडेल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति माधवप्रसाद रेग्मी र प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मन्तव्य राखेका थिए ।

यसैगरी गाउँपालिका महासंघका केन्द्रीय सदस्य एवं मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले मन्तव्य राखेका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत र योजना अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।