जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष (भिडियो)

जिल्ला प्रशासन कार्यालय म्याग्दीामा स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको हो । अति विशिष्ट पाहुनालाई लक्षित गरी स्थापना गरेजस्तै देखिने कक्षमा दुधे बालक, साना बालबालिका लिएर आउने महिलाको सहजताका लागी कक्ष बनाइएको सहायक प्रजिअ लिलादेवी अर्यालले बताउनुभयो ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Thursday, August 9, 2018

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउने अभियान अन्र्तरगत बालबालिका सहित आएका सेवाग्राहीलाई सेवा प्रवाहमा समेत प्राथमिकता दिने अर्यालको भनाई छ । नागरिकता र पासर्पोट बनाउन आउने महिलालाई कक्षको अभावमा होटल तथा सार्वजनिक स्थानमा स्तनपान गराउनुपर्ने समस्या समाधान भएको उनले बताईन् ।

कक्षमा नयाँ सोफा, कार्पेट तथा खेलौना सहितका साम्रागीका लागि बेनी नगरपालिका र बेनी अस्पतालले आर्थिक सहयोग गरेका थिए । कक्षमा महिलालाई आरामले बसेर स्तनपान गराउने सुविधा रहेको छ । कक्षमा शिशुलाई सुताउने काक्रो, चित्र भएका पुस्तकहरुको समेत ब्यवस्था गरिने छ ।

महिलाको संवेदनशिलता, सुरक्षा र महिलामैत्री बनाउने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार स्तनपान कक्षको स्थापनाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारको सम्मान गरेको छ । कार्यालयमा कार्यरत महिला कर्मचारीले दुध चुसाउनका लागि कक्षको प्रयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । । संविधानको धारा ३८ मा महिला हकको उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धित हक हुने उल्लेख छ ।