मन्दिरको नियमित आम्दानीको श्रोत पहिचान गर्न सदरमुकाम बेनीमा सक्रिय लायन्स क्लव अफ बेनी पिस सिटीले बहुमुल्य बोधिचित्त रोपण गरेको छ। भक्तजनको भेटी र चन्दाको भरमा सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा पहिलो चरणमा ३० गोटा विरुवा लगाइएको छ । कार्यक्रममा क्लवका अध्यक्ष लोकेश पुन मगर र संस्थापक अध्यक्ष राजेश शाक्यले वडा अध्यक्ष टेक बहादुर रावललाई विरुवा हस्तान्तरण गर्दै अभियानको सुरुवात गरेका थिए ।

धार्मिक कार्यमा प्रयोग हुने बोधिचित्तको विरुवालाई संरक्षणमा मन्दिर ब्यवस्थापन समितिलाई आवश्यक सहयोग गर्ने वडा अध्यक्ष रावलले बताउनुभयो । लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’ १ अन्र्तरगत स्थापना भएको क्लवले शिक्षा,स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएकाको उपचार र समुदायको आम्दानी हुने क्षेत्रमा काम गरेको क्लवका अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो । क्लवले माटो परिक्षण गरी बोधिचित्तको सम्भावना रहेकाले मन्दिरलाई छनोट गरेको अध्यक्ष पुनको भनाई छ ।

क्लवले दुईबर्ष अगाडी बेनी नगरपालिका– ६ डम्बरा सुन्दर डम्बर टोल सुधार समितिसंग सहकार्य गरी शिव मन्दिरको गुठी आसपासका क्षेत्रमा ७५ गोटा विरूवा गरेपनि संरक्षण नहुदाँ विरुवा नष्ट भएको थियो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले सामुदायिक क्षेत्रमा गरिएका खेतीबाट प्रत्यक्ष फाइदा लिन सकिने बताउँदै बोधिचित्तमा क्लवले थप लगानी गर्ने बताउनुभयो । उहाँले बोधिचित्तको महत्वका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बेनी नगरकार्यपालिका सदस्य गौरी थापा, मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष गोविन्द बोगटी, जागरण समुहका अध्यक्ष गणेश बोगटी, भानु माविका प्रधानध्यापक भरत खत्रीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव भोजबहादुर रिजालले गर्नुभएको थियो । बोधिचित्तको मालाबाट जप, ध्यान र मन्त्रोच्चारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्त हुने र अन्जानमा गरेको पाप काटिने र मृत्युपछि पनि शान्ती प्राप्त हुने विश्वास रहेको छ ।

समुन्द्र सतहबाट ४ सय देखी २५ सय मिटरसम्म लगाउन सकिने भएकाले म्याग्दी जिल्लाको जमिन तथा माटो समेत बोधिचित्तका लागि उपयुक्त मानिन्छ । बोधिचित्तको विरुवा लगाएको २ देखी ३ बर्षभित्र बर्षमा दुईपटक फल दिन्छ । रत्नेचौरमा रातो माटो भएकाले धेरै क्षेत्रमा यसको सम्भावना रहेको छ । एउटा विरुवा हुर्किसकेपछि खासै हेरचाहको आवश्यकता नपर्ने भएकाले पनि म्याग्दी जस्तो पहाडी जिल्लामा अझै उपयोगी मानिन्छ । विगतमा समेत रत्नेचार निवासी दिपक बोगटीले रुद्धाक्षको विरुवा लगाइएकोमा फल दिन सुरु गरेको छ ।