म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा अत्याधिक भक्तजनले दर्शन गरेका छन् । यसबर्षको साउनको अन्तिम सोमबार जिल्लाका ग्रामिण क्षेत्रका साथै विभिन्न जिल्लाबाट बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो । भक्तजनको अत्याधिक चापलाई ब्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो ।

साउन महिनाको सोमबार शिजवीको दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वासले सवारीसाधन तथा पदैलयात्रा गरी मन्दिरमा पुगेका थिए । मन्दिरमा पुजाआजा गर्ने लामबद्ध बसेका भक्तजनहरुको लाइन बजारसम्म पुगेको थियो ।गलेश्वर मन्दिरमा चारवटै नाकाबाट भक्तजनहरुको एकसाथ प्रवेशलाई ब्यवस्थित बनाउन खटिएका स्वयमसेवकहरुलाई मन्दिरको बाहिरी प्रवेशद्धार देखी मुल मन्दिरसम्म तीनवटा लाइन लगाइएको थियो ।

पुजाआजा गर्ने लाइन र बाहिरिने गरी एउटै प्रवेशद्धारबाट बनाइएको लाइनमा विहानै देखी दिउँसो सम्म भक्तजनहरुले पुजाआजा गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । ‘दिनभर करिव ५० हजार भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ,‘गतबर्षको तुलनमा भक्तजनको आगमन बढेको छ’ रेग्मीले भने । महदेव शिवको पुजा गर्न बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट समेत भक्तजनहरू आएका छन् । बोलबम टोलीले समेत मन्दिरमा चहलपहल बढेको थियो ।

विगतका बर्षमा पुजाआजा गर्न मन्दिर भित्र लाइन हुने गरेको भएपनि यसपटक बजारसम्म लाइन पुगेपछि सुरक्षाकर्मीले समेत भीड ब्यवस्थामा सक्रियता देखाएका थिए । अन्तिम सोमबार करिव २५ हजारको अपेक्षा गरिएपनि दिउँसो नै ३५ हजारभन्दा धेरै भक्तजनहरू आएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । दर्शन गर्न आएका भक्तजनलाई अन्न क्षेत्रमा निशुल्क भोजको ब्यवस्था गरिएको थियो।

परिसरमा चोरी हुनसक्ने भन्दै सिसी क्यामेरा समेत जडान गरिएकाले पनि कुनै घटना नघटेको कोषाध्यक्ष बम बहादुर पुनले बताए। उनका अनुसार विगतमा चोरीका घटना सुन्ने गरिएपनि यसबर्ष साधा पोशाकमा समेत परिचालन गरिएको बताए ।मन्दिरमा सुरक्षा, पुजा तथा बत्ति,गणेश मन्दिर दर्शन, नरिवल फुटाउन समेत स्वयमसेवक खटाइएको, शिवलिङ्ग दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, शिवचक्रशिला परिक्रम, जलपान, भोजन, गाडी पार्किङ, पुजा साम्रागी विक्री बजारलाई समेत ब्यवस्थित बनाइएको थियो । मन्दिर परिसर भित्र कलात्मक शैलीको राधाकृष्ण मन्दिर समेत बनाइएकाले भक्तजनको संख्या बढेको छ ।

साउनमहिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अबिवाहितहरु सुयोग्य बरको कामना गर्दै चोखो निष्ठ गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्छन् । कालिगण्डकीको किनारमा चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा शिवको पुजाका लागि आएका भक्तजनलाई ब्यवस्थित क्षेत्र विकास कोष, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी, गलेश्वर आमा समुह, लगाएत विभिन्न संघसंस्थाले स्वयमसेवकको भुमिका निर्वाह गरेका थिए ।
चारवटै सोमबारमा विहानको तुलनामा दिउँसोमा भक्तजनको भीड देखिएको थियो ।

सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्ति क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ । साउने सोमबार प्रशिद्ध धार्मिकस्थल गलेश्वरका साथै अन्य धार्मिक क्षेत्रमा दर्शन गर्न जाने भक्तजनले महिला तथा युवतीले हरियो चुरा सहितको पहिरनमा जाने गर्दछन् । मन्दिरमा संकलन भएको भेट्टीले पुर्वाधार थपका साथै जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकलाई भोजनको ब्यवस्था सहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । तेस्रो सोमबार सम्म करिव ९ लाख भन्दा बढी भेटी संकलन भएको छ । अन्तिम सोमबार भक्तजनसंगै भेटी समेत बढ्ने अनुमान गरिएको छ । गत बर्षको साउने सोमबारमा १२ लाख भेटी संकलन भएकोमा यसबर्ष बढ्ने निश्चित छ ।