गरिमा विकास बैङ्क राष्ट्रियस्तरको बैङ्क भएको धेरै समय भइसकको छ

नेपाल विकास बैङ्कर्स सङ्घ एसोसिएसनका अध्यक्ष हुन्— गोविन्दप्रसाद ढकाल । हाल उनी गरिमा विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा कार्यरत छन् । गरिमामा उनी सीईओ बनेको १० वर्ष भइसकेको छ । गरिमा विकास बैङ्क क्षेत्रीयस्तरको हुँदादेखि राष्ट्रियस्तरको बैङ्क बन्दासम्म पनि उनले नै त्यसको नेतृत्व गरिरहेका छन् । उनै ढकालसँग क्यापिटल नेपालका संवाददाता निकेश खत्रीले बैङ्कको विगत र आगामी योजनाका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सार :

गरिमा विकास बैङ्क अहिले राष्ट्रियस्तरको भइसकेको छ । यस अवस्थामा आइपुग्दा बैङ्कले दुई क्षेत्रको अनुभव बटुलेको छ । क्षेत्रीयस्तर र राष्ट्रियस्तरको कारोबारमा के फरक छ ? क्षेत्रीयस्तरमा व्यवसाय गर्न सजिलो कि राष्ट्रियस्तरमा ?

गरिमा विकास बैङ्क राष्ट्रियस्तरको बैङ्क भएको धेरै समय भइसकको छ । हामी पोखरामा रहँदै क्षेत्रीय स्तरबाट राष्ट्रियस्तरको विकास बैङ्क बनिसकेका थियौं । क्षेत्रीयस्तरको बैङ्क र राष्ट्रियस्तरको बैङ्क बनेर कारोबार गर्न सामान्य कुरा बाहेक खासै फरक छैन । कामका हिसाबले त्यस्तो फरक छैन । राष्ट्रियस्तरको भइसकेपछि वाणिज्य बैङ्कहरुसँग प्रतिस्पर्धा हुने गर्छ । तर, क्षेत्रीयस्तरको बैङ्कले निश्चित क्षेत्रमा मात्र कारोबार गर्ने भएकाले त्यस्तो राष्ट्रियस्तरको प्रतिस्पर्धा हुँदैन ।

शाखा विस्तार, व्यवसाय गर्न राष्ट्रियस्तरको बैङ्कमा जुन मौका छ, त्यो मौका क्षेत्रीयस्तरको बैङ्कलाई छैन । काम गर्न राष्ट्रियस्तरमा सहज हुन्छ । राष्ट्रियस्तरको भइसकेपछि व्यवसायको र प्रतिस्पर्धाको क्षेत्र ठूलो हुन्छ । तर, क्षेत्रीयस्तरको बैङ्कले खोजेको ठाँउमा लगानी गर्न नपाउने, चाहेको ठाँउमा जान नपाउने र निश्चित दायराभित्र रहेर काम गर्नुपर्छ ।

तपार्इंहरु बढी नेपालको पश्चिम क्षेत्र केन्द्रित भए जस्तो देखिन्छ । राष्ट्रियस्तरको भइसकेको अवस्थामा पनि पश्चिममै बस्ने कि पूर्वमा पनि व्यवसाय फैलाउने ? के छ योजना ? कहिलेसम्म जानुहुन्छ पूर्वी क्षेत्रमा ?

अहिलेसम्मको स्थितिले त्यो देखाएको हो, तर हामी पश्चिम केन्द्रित मात्रै भएको भने होइन । हामीले पश्चिमाञ्चल क्षेत्रबाट व्यवसाय सुरु गर्यौं । स्थापना पनि सोही क्षेत्रमा भएको र म्याग्दीकै नीलगिरि विकास बैङ्क र चितवनस्थित शुभेच्छा विकास बैङ्कसँग मर्ज भएपछि स्वाभाविक रुपमा पश्चिम क्षेत्रमा व्यवसाय विस्तार भएको हो । पहिले राष्ट्रियस्तरको नहुँदा त्यो क्षेत्रमा कारोबार बढाउनु स्वाभाविक हो । तर, राष्ट्रियस्तरको भइसकेपछि गत आर्थिक वर्षमा हामीले पूर्वमा १० ओटा शाखा विस्तार गरिसकेका छौं ।

प्रदेश १ मा शाखा विस्तार भइसक्यो । अब हामी प्रदेश २ मा पनि शाखा विस्तारको तयारीमा छौं । हामी अहिले देशव्यापी रुपमा शाखा विस्तार गर्दै छौं । बैङ्कहरुको पुहँच नभएको स्थानमा पनि शाखा विस्तार गर्दै छौं । जुन क्षेत्रमा बढी सम्भावना हुन्छ, त्यही क्षेत्रमा द्रुत गतिमा व्यवसाय विस्तार गर्ने हाम्रो योजना हो ।

हालसम्मको स्थिति हेर्दा पोखरा केन्द्रित बैङ्कहरुले राम्रो प्रगति गरेको देखिन्छ । तपाईंहरु यसमा कहाँ हुनुहुन्छ ?

सम्पूर्ण बैङ्क वित्तीय क्षेत्रमा गरिमा विकास बैङ्क शीर्ष ५ भित्र अटाएको छ । प्रत्येक क्षेत्रका बैङ्क एवम् वित्तीय संस्थामध्ये अघिल्लो वर्षको तुलनामा उत्पादनका हिसाबले गरिमा पहिलो स्थानमा छ । निक्षेप, उत्पादन, नाफा, ल्यान्डिङका हिसाबले गरिमा शीर्ष ५ भित्र छ । पोखरा केन्द्रित अन्य बैङ्क तथा वित्तीय संस्था पनि अहिले उत्कृष्ट अवस्थामा छन् ।

प्रतिस्पर्धाका हिसाबले गरिमामा कुनै विवाद छैन । तर, गरिमाभन्दा पछाडि पोखराको अन्य धेरै विकास बैङ्क छन् । त्यसकारण यो अवस्थामा आएको बैङ्कलाई पछाडि भन्न मिल्दैन । गरिमा व्यवसाय, उत्पादन, नाफा, निक्षेप र शाखाका आधारमा अन्य धेरै बैङ्कभन्दा अगाडि छ ।

अहिलेको अवस्थामा विकास बैङ्कहरुको विस्तारमा के समस्या छ ? समाधानका उपाय केके होलान् ?

विकास बैङ्कहरुलाई विस्तारका लागि समस्या छैन । महानगरपालिकाभन्दा बाहिर नगरपालिका र गाउँपालिकामा शाखा खोल्न नेपाल राष्ट्र बैङ्कलाई एउटा सूचना दिए पुग्छ । स्वीकृति पनि लिनुपर्दैन । आफैं निर्णय गरेर शाखा खोलेपछि राष्ट्र बैङ्कलाई सूचना दिँदा हुन्छ । त्यसैले शाखा र व्यवसाय विस्तारमा विकास बैङ्कहरुलाई कुनै नीतिगत समस्या छैन । बरु अहिले हामीसँग व्यवसाय विस्तारका लागि दक्ष जनशक्तिको खाँचो छ । शाखा विस्तार गर्न सजिलो छ । तर जनशक्ति पाउन गाह्रो छ । त्यो एउटा समस्या छ ।

विकास बैङ्कहरुमा कर्मचारी टिकाउन धौधौ छ भन्ने हल्ला आएको छ । यो सत्य हो ? हो भने किन यस्तो भएको ?

सम्पूर्ण विकास बैङ्कहरुको हकमा यस प्रकारको समस्यालाई सत्य भन्न मिल्दैन । किनकि हामीले पाँच ओटा शाखाका लागि कर्मचारीको आवेदन माग्दा वाणिज्य बैङ्कका अनुभवी कर्मचारीले समेत आवेदन दिएका थिए । क्षेत्रीयस्तरका विकास बैङ्कलाई भने त्यो प्रकारको समस्या छ । चार प्रकारका विकास बैङ्कमध्ये एक जिल्ले, तीन जिल्ले र १० जिल्ले विकास बैङ्कलाई कर्मचारी जोगाउने चुनौती छ ।

क्षेत्रीयस्तरका विकास बैङ्कले बल्लबल्ल एक जना कर्मचारी तयार गरेर दक्ष बनाएपछि राष्ट्रियस्तरका विकास बैङ्क र वाणिज्य बैङ्कले तानिदिइहाल्छन् । त्यसकारण यस किसिमको समस्या राष्ट्रियस्तरको विकास बैङ्कमा छैन । साथै विकास बैङ्कले जनशक्ति तयार गरेपछि वाणिज्य बैङ्कमा जाने भएकाले जनशक्तिको समस्या भएको हो । वाणिज्य बैङ्कको रेसियो अलिकति राम्रो हुने भएकाले कर्मचारी वाणिज्य बैङ्कतिर सर्ने गर्छन् ।

कर्मचारीको सेवासुविधाका आधारमा सबै बैङ्कमा एउटै स्तर नभएकाले समस्या भएको हो । सबै बैङ्कमा कर्मचारीको सेवासुविधालाई एकै प्रकारको बनाउने हो भने कर्मचारी अन्य बैङ्कमा जाँदैनन् । कर्मचारी रोक्ने यो नै एउटा उत्तम उपाय हो । जबसम्म बैङ्कअनुसार कर्मचारीको सेवासुविधा र कमाइ एउटै स्तरमा पुग्दैन, तबसम्म विकास बैङ्कका कर्मचारी जोगाउन गाह्रो पर्छ ।

विकास बैङ्कले पनि नयाँ पद्धतिअनुसार चालू आर्थिक वर्षदेखि एनएफआरएस लागु गर्नुपर्नेछ । त्यसले तपाईंहरुलाई कत्तिको असर गर्छ ?

अन्तर्राष्ट्रिय फाइनान्सियल रिपोर्ट स्ट्यान्डर्ड (आईएफआरएस)लाई हामीले एनएफआरएस भनेका हौं । चालू आर्थिक वर्षदेखि वाणिज्य बैङ्कहरुमा यो प्रणाली सुरु भइसक्यो । राष्ट्रियस्तरको विकास बैङ्कले रिपोर्टिङ गर्दा पनि त्यो प्रणाली आइसकेको छ । एनएफआरएस प्रणाली लागू भइसकेपछि विकास बैङ्कहरुको वास्तविक स्थिति कस्तो छ भनेर थाहा पाउन सजिलो हुन्छ । र अहिले सञ्चालनमा रहेको रिपोर्ट तयार पार्ने विधिभन्दा यो प्रणाली धेरै राम्रो र उत्कृष्ट छ ।

यो अन्तर्राष्ट्रियस्तरको प्रणाली भएकाले नेपालका वित्तीय संस्था पनि अन्तर्राष्ट्रिय पद्धतिमा चल्न मद्दत पुग्छ । र संसारभरको वित्तीय अवस्था एक प्रकारको हुन्छ । यसमा वित्तीय विवरण प्रकाशन गर्न हामीलाई कुनै प्रकारको समस्या छैन । हामी अर्को वर्षदेखि यो प्रणालीमा वित्तीय विवरण प्रकाशन गर्छौं । यसका लागि विकास बैङ्क तयार छन् ।

निक्षेप र कर्जाबीचको ब्याज अन्तर (स्प्रेडदर) वाणिज्य बैङ्कको भन्दा बढी पाउनुभएको छ । यसले विकास बैङ्कको नाफा बढाउन कत्तिको सहयोग गर्छ ?

स्प्रेडदर बढी भएपछि नाफा स्वाभाविक रुपमा बढ्छ । तर, वाणिज्य बैङ्कको तुलनामा विकास बैङ्कले गर्ने अन्य आम्दानी अत्यन्तै कम छ । जस्तो एलसी, नेपाल सरकार तथा नियामक नियकायको बैङ्क ग्यारेन्टीजस्ता नियमले वाणिज्य बैङ्कको नाफा विकास बैङ्कको भन्दा बढी हुन्छ । विकास बैङ्कहरुको सम्पूर्ण आम्दानी ब्याजमा निर्भर हुने गर्छ । वाणिज्य बैङ्कहरुले सम्पूर्ण आम्दानीको ३० प्रतिशतसम्म अन्य आम्दानीबाट गर्छन् भने विकास बैङ्कहरु सम्पूर्ण आम्दानीको करिब ८ प्रतिशत मात्र अन्य आम्दानीबाट प्राप्त हुन्छ । यो स्वाभाविक हो । विकास बैङ्कहरु पूर्णतः ग्रामीण भेग केन्द्रित भएका छन्, जसले गर्दा आम्दानी पनि घटाएको छ । वाणिज्य बैङ्क सायद एउटा मात्रै गाउँपालिकामा गाएको होला । अधिकांश विकास बैङ्क ग्रामीण भेगमा केन्द्रित भएका छन् । क्षेत्रीयस्तरमा स्थापना भएकाले गाउँमा शाखा स्थापना गरे । राष्ट्रियस्तरमा आएका हामी पनि ग्रामीण भेगमा शाखा स्थापनामा लागेका छांै । ग्रामीण क्षेत्रमा जाँदा विकास बैङ्कको लागत बढी र अन्य आम्दानी कम भई पूर्ण रुपमा ब्याज आम्दानीमा निर्भर हुँदा नाफा कम भएको छ ।

मर्ज गर्न अझै तत्पर हुनुहुन्छ कि अब सकियो ? अझै पुँजी बढाउने भन्ने कुरा आइराखेको छ । त्यसलाई अहिलेदेखि कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पहिले नीलगिरी विकास बैङ्क र शुभेच्छा विकास बैङ्कसँग मर्ज गरेर गरिमा विकास बैङ्क बनेको हो । तीनओटा विकास बैङ्क आपसमा मिलेर गरिमा बनेको छ । हामी मर्जका लागि अझै पनि तयार छौं । उपयुक्त बैङ्क तथा वित्तीय संस्था पाइयो भने मर्ज गरेर अगाडि जान्छौं । तर यसमा हामी मात्र लागेर हुँदैन, अर्को बैङ्क तथा वित्तीय संस्था पनि मर्जका लागि तयार हुनुपर्छ ।

मर्जका लागि हामी प्रयत्नरत छौं । अझै पनि पुँजी बढाउने विषयमा छलफल गर्दै छौं । बैङ्कको पुँजी बढाउनुभन्दा त्यो पैसा अन्य कुनै क्षेत्रमा लगानी गर्दा देशको उत्पादन बढ्न सक्छ । जबर्जस्ती मर्जमा गए पनि अब राष्ट्र बैङ्कले पुँजी बढाउने नीति ल्याउँदैन जस्तो लाग्छ ।

किनकि पुँजी मात्र बढाउँदा त्यो राष्ट्रलाई घातक हुन सक्छ । पुँजी बढाए पनि मर्ज गरेर बढाउनैपर्ने हिसाबले नियम आउँछ जस्तो पनि लाग्दैन । पुँजी र हकप्रद सेयर मात्र थपेर पुँजी बढाउनुपर्ने अवस्था अब छैन । राष्ट्र बैङ्कले अब वाणिज्य बैङ्कलाई मर्ज गराउने सम्भावना छ । विकास बैङ्क र वाणिज्य बैङ्कमा पुँजी बढाउने नीति आउला जस्तो लाग्दैन ।

लगानीकर्ताले यो पटक के पाउँछन् र पाए भने कति पाउँछन् ?

गरिमा विकास बैङ्कले स्थापनादेखि नै लगानीकर्तालाई राम्रो रिटर्न दिँदै आएको छ । विगतलाई हेर्दा गरिमाले १८ देखि २० प्रतिशतसम्मको रिटर्न दिएको अवस्था छ । गत आर्थिक वर्षमा पनि हामीले राम्रो रिटर्न दिएका थियौं । गत वर्ष ७० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका थियौं । र १५ प्रतिशत बोनस सेयर दिँदा ८५ प्रतिशत पुँजी बढेको थियो । त्यति गर्दा पनि ४४ प्रतिशत नाफा गर्न हामी सफल भयौं । यो वर्ष पनि हामीसँग १५ प्रतिशतसम्म रिटर्न दिन सक्ने क्षमता छ । तर, बोर्डको निर्णयपछि लगानीकर्तालाई के दिने निर्णय हुन्छ ।

आगामी दिनमा गरिमाको लक्ष्य के हुनेछ ? सेवा केन्द्रित वा व्यवसाय वृद्धिमा केन्द्रित ?

सेवा र व्यवसाय सँगैसँगै लैजाने हो । सेवा दिन सकेनौं भने व्यवसाय विस्तार हुन सक्दैन । गुणस्तरीय सेवा दिएपछि मात्र व्यवसाय अगाडि बढाउने कुरा आउँछ । त्यसकारण सेवा र व्यवसायलाई सँगै लैजाने गरी गरिमा अगाडि बढ्दै छ । copyright:capitalnepal.com